बैतड: बैतडीमा राष्ट्रिय परिचयपत्र वितरण सुरु भएको छ । विवरण पेस भई राष्ट्रिय परिचयपत्र छापिएर आएपछि प्रशासनले वितरणको काम सुरु गरेको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए। राष्ट्रिय परिचयपत्र लिनका लागि स्वयं व्यक्ति नै उपस्थित हुनुपर्ने उनले बताए।
राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणालीमा समावेश भएका नागरिकका जैविक र वैयक्तिक विवरणको आधारमा उत्पादन भएको बायोमेट्रिक सूचना र पृथक नम्बर सहितको प्रत्येक व्यक्तिलाई वितरण गरिने राष्ट्रिय पहिचान सहितको बायोमेट्रिक सुविधायुक्त बहुउपयोगी प्रमाणपत्र हो।
प्रशासनले ‘फिङ्गर प्रिन्ट’ रुजु गर्न र पिन नम्बरसमेत रहेकाले परिचयपत्र लिन आफैँ आउनुपर्ने जनाएको छ। कार्यालयका अनुसार सबैलाई संगै वितरण गर्दा भिड हुने भएकोले मोबाइलमा सन्देश पठाएर वितरण गर्ने गरिएको छ । पहिलो चरणमा १० हजार परिचयपत्र तयार भएर बैतडी आइपुगेका छन्। अब समाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिर्वाय गरिएको छ।