डडेल्धुरा : हिजो(बिहिवार) महेन्द्रनगर पोष्टमा ‘वनमा अवैध टहरा बनाएर मौरडाका ‘हेडसर’ले मदिरा व्यापार गरेपछि…’ भन्ने शिर्षकको समाचार प्रकाशित भएको समाचारप्रति नेपाल शिक्षक महासंघ डडेल्धुराले आपत्ति जनाएको छ।
शुक्रबार शिक्षक महासंघ जिल्ला कार्य समितिले एक विज्ञप्ति जारी गर्दै बैजनाथ माध्यमिक विद्यालय अमरगढी नगरपालिका -२ र सोही विद्यालयका प्रधानाध्यापक मोहनसिंह धामीको नाम जोडी प्रकाशित समाचारको शीर्षक र सामाचारप्रति आपत्ति जनाउँदै ध्यानाकर्षण भएको जनाएको हो।
अध्यक्ष हेमराज ओझा र सचिव ताराप्रसाद अवस्थीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘कुनै पनि व्यक्तिको पारिवारका सदस्यहरुको पेसा व्यवसायको विषयलाई शिक्षक, प्रअ तथा विद्यालयको नाम जोडी प्रकाशन गरिएको भ्रामक समाचारप्रति नेपाल शिक्षक महासंघ, डडेल्धुरा खेद प्रकट गर्दै घोर आपत्ति प्रकट गर्दछ।’
तर, गत भदौ १८ गते बसेको कालापत्थर सामुदायिक वन उपभोक्ता समिति अमरगढी नगरपालिका-६ को बैठकले सात दिनभित्र वन अतिक्रमण गरि बनाएको टहरा हटाउन अमरगढी नगरपालिका-४ बस्ने माैरडाका प्रधानाध्यापक समेत रहेका धामीलाई हटाउन निर्देशन दिएको थियो।
उक्त बैठकमा स्वयं धामी पनि उपस्थित थिए। वन अतिक्रमण गरि बनाइएको टहरामा धामीले सहोदर भाइसँग मिलेर मदिराको व्यापार गर्ने गरेका थिए।
त्यसपछि पनि धामीलाई पटक-पटक टहरा हटाउन सामुदायिक वनले आग्रह गरेको थियो। तर पनि उनले अटेरी गरेपछि मंगलबार उनको टहरा कालापत्थर सामुदायिक वनले हटाएको छ।