कैलाली – सत्ता गठबन्धन दलबीच कैलालीमा भएको भागबडाका विषयमा नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका महामन्त्री नरनारायण शाह ‘मनु’ले असहमति राखेका छन् । उनले प्रदेशका अन्य केही जिल्लामा मित्रवत प्रतिस्पर्धा गर्ने निर्णय भइरहँदा कैलालीका सबै स्थानीय तहमा भागबण्डा गर्नुपर्ने कारण नभएको भन्दै असहमति जनाएका हुन् ।
उनले सामाजिक सञ्जालमा ‘नोट अफ डिसेन्ट’ लेख्दै कैलालीको भागबण्डामा आफ्नो पूर्ण असहमति रहेको बताएका छन् । गठबन्धनको महत्वपूर्ण छलफलमा केन्द्रीय सदस्यहरुले सल्लाह नै नदिएको पनि उल्लेख गरेका छन्।
‘सुदूरपश्चिमका अन्य जिल्लामा कहीँ कुरा नमिले मित्रवत प्रतिस्पर्धा गर्ने, तर कैलालीका हकमा सबै स्थानीय तहमा गठबन्धन गर्ने बाध्यात्मक परिस्थिति के आई लाग्यो ?,’ उनले प्रश्न गर्दै भनेका छन्, ‘गठबन्धन भए सबै जिल्लामा हुनुपर्छ, नभए कहीँ हुनुहुँदैन। मेरो पूर्ण असहमति ।’
कैलालीमा गठबन्ध्न दलबीच जिल्लाका १३ पालिकामध्ये कांग्रेसले सात पालिका, नेकपा माओवादी केन्द्रले चार पालिका र नेकपा एकीकृत समाजवादीले दुई पालिका पाउने गरि भागबण्डा भएको छ ।