डडेल्धुरा: प्रधानमन्त्री कप महिला टि २० राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनौट खेल्न डडेल्धुरा क्वालिफायर भएको छ। हिजो सम्पन्न फाइनल खेलमा अछामलाई ७ विकेटले स्तब्ध पार्दै डडेल्धुरा च्याम्पियन हुँदै क्वालिफायर भएको हो।
अछामले दिएको ७४ रनको लक्ष्य डडेल्धुराले ८.१ ओभरमा ३ विकेटको क्षतिमा भेट्टायो। जसमा प्लेअर अफ द ओम्यान भएकी सुनिता साउँदले अविजित ४७ र निशा खडायले १४ रन जोडिन्। अछामका लागि अस्मिता औजीले २ र कविता सोनारले १ विकेट हात पारिन्।
गत वर्षको प्रदेशस्तरीय छनौट प्रतियोगिताको सेमिफाइनलमा पुग्न नसकेका डडेल्धुरा, दार्चुला, डोटी र अछामबीच क्वालिफायर गराइएको सुदूरपश्चिम प्रादेशिक क्रिकेट समितिका उपाध्यक्ष तथा प्रतियोगिता सञ्चालन समितिका संयोजक रमेशबहादुर बोहराले जानकारी दिए। यसअघि अन्तिम चारमा पुगेका बैतडी, बझाङ, कैलाली कञ्चनपुरसंगै अब डडेल्धुराले प्रदेश छनौट खेल्न पाउनेछ ।
प्रदेशस्तरीय छनौट प्रतियोगिता आइतबारदेखि कैलालीको शैनिक आवाशिय महाविद्यालयको खेलमैदानमा शुरु हुदैछ ।
फाइनल खेल मंसिर २९ गते अंकतालिकाको शिर्ष स्थानमा रहने दुई टोलीबीच हुने जनाइएको छ।प्रदेशमा उत्कृष्ट प्रदर्शन गरेर छनौट भएका खेलाडीले टोली बनाएर राष्ट्रिय प्रतियोगिता खेल्नेछन् । प्रधानमन्त्री कप महिला टि २० राष्ट्रिय क्रिकेट प्रतियोगिता पुस १ गतेदेखि काठमाडौंमा हुने नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए । प्रतियोगितामा सात प्रदेश र एक विभागीय क्लब एपीएफको सहभागीता रहनेछ।