धनगढीः सुदूरपश्चिम प्रदेशका १० स्थानीय तहमा सशक्त महिला, समृद्ध नेपाल परियोजना लागु गरिएको छ। नेपाल सरकारको सहकार्यमा युरोपेली संघ र संयुक्त राष्ट्र संघका चार एजेन्सी आइएलओ, युएनएफपीए, युनिसेफ र युएन ओमनको साझेदारीमा प्रदेशका १० स्थानीय तहमा परियोजना लागु गरिएको हो।
बिहीबार धनगढीमा आायोजना गरिएको प्रादेशिक शुभारम्भ तथा अभिमुखीकरण कार्यक्रममा प्रदेशका सामाजिक विकास मन्त्री झपट साउँदले परियोजना लागु भएको घोषणा गरेका थिए। यो परियोजना कैलालीको धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका, चुरे गाउँपालिका, कञ्चनपुरको बेलौरी नगरपालिका, डोटीको दिपायल सिलगढी नगरपालिका, जोरायल गाउँपालिका, बाजुराको बडिमालिका नगरपालिका, बझाङको मष्टा गाउँपालिका, खप्तडछान्ना गाउँपालिका र दुर्गाथली गाउँपालिकामा सञ्चालन हुने साझेदार संस्थाहरुले जनाएका छन्।
संघीय सरकारको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको समन्वयमा सञ्चालन हुने परियोजना अन्तरगत सामाजिक मूल्य, मान्यता र लैंगितामा आधारित हिंसा रोकथाम, महिलाको आर्थिक सशक्तिकरण, महिला नेतृत्व,प्रतिनिधित्व, लैंगिक उत्तरदायी र समावेशी शासन प्रवद्र्धन लगायतका कार्यक्रम सञ्चालन गरिनेछ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको अध्यक्षतामा परियोजना सञ्चालन समिति गठन गरिएको छ। उक्त समितिको सहअध्यक्ष ईयु, युएनआरसीओ रहेका छन् भने प्रदेश स्थित सामाजिक विकास मन्त्रालय, संयुक्त राष्ट्र संघका चार वटै निकाय, राष्ट्रिय योजना आयोग लगायतका निकाय सदस्य रहेका छन्।
परियोजना शुभारम्भ कार्यक्रमका सहभागीहरुले महिला सशक्तिकरणका लागि जिविकोपार्जन सम्बन्धी कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन्।