धनगढी: जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी निरीक्षक(इन्स्पेक्टर) उपेन्द्र बमले आफुखुसी मुद्दामा चलखेल गर्ने गरेको पाइएको छ।
हालै उनी त्यस्तै एक घटनामा मुछिएका छन्। उनले एक युवकलाई गैर कानुनी रुपमा समातेर थुनामा राखेको खुल्न आएको छ। उनले लेनदेनका विषयमा सहमति भइसकेको मुद्दामा आइतबार धनगढी उपमहानगरपालिका- २ बस्ने प्रेम खत्रीलाई थुनामा राखेको पाइएको छ।
प्रेमका दाजु सुरेन्द्र खत्रीले लेनदेनका विषयमा यसअघि सहमति गराइएको भएपनि आइतबार प्रहरीले अनाधकृत रुपमा नियन्त्रणमा लिएको बताएका छन्। खत्री र सुमी बम नाम गरेकी महिला बीच पैसा लेनदेनको घटनामा प्रहरीले प्रेमलाई बेलाबेला समस्या दिइरहेको उनको आरोप छ।
उपेन्द्र र सुमीबिच नाता पर्ने भएकाले खत्रीलाई जतिखेर पनि सोधपुछका लागि बोलाउने गरेको उनका दाजु सुरेन्द्रले बताए। एकचोटी जिप्रकामा कागजपत्र बनाइसकिएको तर सुमित्राले हराएपछि फेरि कागजपत्र बनाई पाउ भन्दै भाईलाई दु:ख दिइरहेको उनले बताए।
खत्रीलाई दिउँसो उपेन्द्र बमले पक्राउ गरेको भएपनि प्रहरी प्रमुख तथा प्रवक्तालाई जानकारीसमेत नदिइएको पाइएको छ।
इन्सपेक्टर बम विवादित बन्दै गएपछि कैलाली प्रहरीका प्रवक्ता डिएसपी कुलदिप चन्दले उक्त विषयमा बुझिरहेको बताएका छन्।
यस अगाडि वडा प्रहरी कार्यालय धनगढीमा हाकिम बसेका बम पावर लगाएर काजमा जिप्रका कैलाली बसेका छन्। जबकी उनको दरबन्दी प्रदेश प्रहरी कार्यालयमा छ।