काठमाडौँ– राष्ट्रपतिबाट १० दिनअघि मात्रै प्रवल जनसेवाश्री चतुर्थ विभूषण पाएकी मालपोत कार्यलय ताप्लेजुङकी अधिकृत लेखा पनेरु (महत) डेढलाख रुपैयाँ घुस रकमसहित पक्राउ परेकी छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले मालपोत कार्यालय ताप्लेजुङकी प्रमुखसमेत रहेकी पनेरुलाई आइतबार रंगेहात पक्राउ गरेको हो ।
आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार जग्गा दर्ता कायम गर्ने बेलामा सेवाग्राहीबाट असुल गरेको १ लाख ५० हजार रूपैयाँसहित उनलाई फुङलिङ नगरपालिका(४ कोप्चेबाट पक्राउ गरिएको हो।
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका– ७ का एक सेवाग्राहीको अंशियारबीच भागबन्डा भइसकेको जग्गा दाखिला खारेज गरी दर्ता कायम गर्ने क्रममा मालपोत अधिकृत महतले घुस लिएकी थिइन्।
पनेरुले यही वैशाख १ गते मात्रै राष्ट्रपति विद्यादेवी भण्डारीबाट उत्कृष्ट राष्ट्रसेवकका रूपमा विभूषण पाएकी थिइन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सिफारिसका आधारमा गृह मन्त्रालयले उनलाई विभूषण दिने निर्णय गरेको थियो ।