काठमाडौं: कोरियाको पानीजहाज निर्माणसम्बन्धी कामका लागि भाषा परीक्षामा अनुत्तीर्ण भएकाले पनि उत्पादनमूलक क्षेत्रमा आवेदन दिन पाउने भएका छन्।
उच्च अदालत पाटनले पानी जहाज निर्माणसम्बन्धी कामका लागि भाषा परीक्षा दिएर अनुत्तीर्ण भएकालाई उत्पादनमूलक क्षेत्रको भाषा परीक्षामा पनि सहभागी गराउन अन्तरिम आदेश दिएको हो।
यसअघि रोजगार अनुमति प्रणाली (ईपीएस) ले पानी जहाज निर्माणसम्बन्धी कामका लागि भाषा परीक्षा दिएर अनुत्तीर्ण भएकाले उत्पादनमूलक क्षेत्रमा आवेदन दिन नपाउने भनेको थियो। यो निर्णयविरुद्ध १८ जनाले उच्च अदालत पाटनमा रिट दिएका थिए।
रिटको सुनुवाइ गर्दै उच्च अदालत पाटनले उत्पादनमूलक क्षेत्रको भाषा परीक्षामा पनि सहभागी गराउन आदेश दिएको हो। उच्च अदालतले उनीहरुलाई फारम भर्न रोक नलगाउन र आवेदन फारम भर्न दिन आदेश दिएको छ।
ईपीएस कोरिया शाखाले उत्पादनमूलक क्षेत्रका लागि भाषा परीक्षामा सहभागी हुन सोमवारदेखि आज शुक्रवारसम्म आवेदन दिन आह्वान गरेको थियो।