बैतडी : प्रदेश गौरवको योजनाको रुपमा रहेको बैतडीको सतबाँझ–श्रीभावर–हाट–दार्चुला सडक अन्तर्गत ट्रयाक खोल्न बाँकी रहेको ठाउँमा ट्रयाक खोल्ने कार्य सुरु भएको छ ।
सुर्नया गाउँपालिका वडा नम्बर ७ र ८ को बीचमा झण्डै साढे तीन किलोमिटर ट्रयाक खोल्ने बाँकी रहेकाले उक्त खण्डमा ट्रयाक खोल्ने काम हिजोदेखि सुरु भएको सुर्नया गाउँपालिकाका अध्यक्ष अम्मरबहादुर कुँवरले बताए।
सुर्नया गाउँपालिकाको कठमडादेखि ट्रयाक खोल्ने कार्यको शुरुवात गरिएको हो। सतबाँझ–श्रीभावर–हाट–दार्चुला सडकमा सुर्नया गाउँपालिकाको कठेगौंडादेखि थप २० किलोमिटर स्तरोन्नतीका लागि ठेक्का सम्झौता भएर काम सुरु भएको पूर्वाधार विकास कार्यालय बैतडीले जनाएको छ।
जागृति टक्सार मुनाल जेभीसँग १४ करोड ७६ लाखमा स्तरोन्नती कार्यका लागि ठेक्का सम्झौता भएको र सोही ठेक्का अन्तर्गत नयाँ ट्रयाक खोल्ने कार्य सुरु भएको पूर्वाधार विकास कार्यालयका इन्जिनियर नरेश भुलले बताए ।