धनगढी: अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त जयबहादुर चन्दले भ्रष्टाचार मुद्दामा आफन्तसमेत पर्ने व्यापारीक साझेदारलाई जोगाउन अनेक हतकन्डा गरेको खुलेको छ। कञ्चनपुरस्थित भीमदत्त नगरपालिकाको आर्थिक वर्ष २०७६/०७७ मा नदीजन्य वस्तुको राजस्व चुहावट गरी भ्रष्टाचार गरेको मुद्दाका मुख्य आरोपी तेजबहादुर चन्दलाई जोगाउन जयबहादुरले अनेक हतकन्डा गरेको पाइएको हो।
हतकन्डा पनि, यतिसम्म कि अख्तियारको आयुक्तजस्तो सम्मानित पदमा बसेर अनुसन्धानको दायरामा हुनुपर्ने ती तेजबहादुरसँग जयबहादुरले खुलेआम भेट गरेको भेटिएको छ। आयुक्त जयबहादुरले महेन्द्रनगरमै पुगेर तेजबहादुरलाई भेटेको खुलासा भएको हो। अख्तियारका अनुसन्धान अधिकृतहरुले तेजबहादुरसमेत मुछिनुपर्ने मुद्दाको अनुसन्धान गरिरहेका बेला चन्दद्वयको भेट भएको देखिन्छ।
तेजबहादुर चन्दको फेसबुक पोस्टका अनुसार जेठ २९ गतेको साँझ साढे ७ बजे चन्दद्वयको भेटघाट भएको थियो। तेजबहादुरले त्यो दिन नै आफ्नो लक गएइएको फेसबुकमार्फत आज महाकाली भाइरल पुलको अवलोकन, साँझ ७:३० बजेतिर रमणीय वातावरण दुई जनाको मिठो गफ भनेर फोटोसहित सार्वजनिक गरेका थिए।
त्यसको केही समयपछि असार १० गतेमात्रै अख्तियारले विषेश अदालतमा मुद्दा दायर गरेको थियो। जसमा जयबहादुर र तेजबहादुर भेटले नै तेजबहादुर चोखिएको बुझिएको छ। मुद्दा चल्नु भन्दा अगाडी नै जयबहादुरले भेट गर्नुले आयुक्तको कनेक्सन प्रष्ट भएको छ। त्यहीँ भेटबाट चन्दद्वयको निकटता एवं सम्बन्ध र मुद्दामा चोकिएको सवाल स्पष्ट हुन्छ।
यतिमात्र होइन, महेन्द्रनगर आएका बेला आयुक्त चन्दले अख्तियारका अनुसन्धान अधिकृत एवं कर्मचारीलाई समेत दबाब दिएको स्रोतको दाबी छ। स्रोतका अनुसार आफ्नो मान्छे भएकाले जयबहादुरले अनुसन्धान अधिकृतहरुलाई तेजबहादुरलाई मुद्दा नलगाउन दबाब दिनेदेखि आयोगको बैठक बस्दा पनि उनको निकै बचाउ गरेका थिए। यस्तायस्तै सेटिङमा माहिर मानिने जयबहादुर नेपाल प्रहरीका पूर्व एआइजी समेत हुन्। एआइजीबाट रिटायर्ड जयबहादुर प्रहरीमा हुँदा पनि विवादित पात्र हुन्।
तेजबहादुरलाई जोगाउनुको कारण (आफन्त) नातागोता र व्यापारीक सम्बन्ध रहेको बताइन्छ। तेजबहादुरका थुप्रै व्यापारमा साझेदार रहेका जयबहादुर थानकोटमा रहेको इटाभट्टा (तेजबहादुरको) बाट जोडिएका थिए। सो भट्टामा जयबहादुरको पनि व्यापारीक साझेदारी रहेको र जयबहादुरकी श्रीमती मिरा चन्दमार्फत साझेदारी सुरु गरिएको स्रोतको दाबी छ।
सोही कारण अख्तियारकै आयुक्त जयबहादुरले आफ्नै सक्रियतामा निकटस्थ तेजबहादुर (नदीजन्य वस्तुको ठेक्का सम्झौतामा हस्ताक्षर गर्ने) लाई जोगाएका हुन्। तर, मुद्दा नचलाइएपछि भने सो सो सेटिङ सेटिङ सतहमा आएको छ।
स्रोतका अनुसार अख्तियारको सुदूरपश्चिमस्थित कार्यालयले तेजबहादुरलाई मुद्दा चलाउनुपर्ने बताएको थियो। तर जयबहादुरले नै रोकेका थिए।
मुद्दा किन लाग्नुपर्ने ?
भीमदत्तमा दुई चरणमा नदीजन्य वस्तुको ठेक्कामा भ्रष्टाचार भएको पाइएको छ। एउटा आर्थिक वर्ष २०७६/०७७ मा भएको पाइन्छ भने अर्को पछिल्लो आर्थिक वर्षमा भएको पाइन्छ। दुबैमा मुद्दाको प्रकृति उस्तै छ, मुद्दा पनि नदीजन्य वस्तुको ठेक्कामा राजस्व चुहावट गरेको भन्ने नै हो। तर एकै प्रकृतिको मुद्दामा सोही भूमिका निर्वाह गर्ने फरक फरक मान्छेलाई भने अख्तियारबाटै विभेद भएको देखिन्छ। जसमा आर्थिक वर्ष २०७६/०७७ को ठेक्का सम्झौता गरेर अख्तियारी लिने तेजबहादुर चन्दलाई मुद्दा नलगाइएको र पछिल्लो आर्थिक वर्षको ठेक्कामा सम्झौता गर्ने दिवाकर भट्टलाई मुद्दा लगाइएको देखिएको हो।
सेटिङ र पहुँचको भरमा कम्पनीको प्रतिनिधि बनेका तेजबहादुरलाई उन्मुक्ति दिइएको हो। स्वर्गीय इश्वरीदत्त भट्ट संचालक रहेको भवानी कन्स्ट्रक्सनको पछिल्लो समय उनकी पत्नी खगेश्वरी भट्ट अंशीयार छिन्।
सोही कम्पनीबाट आर्थिक वर्ष २०७६/०७७ मा चन्दले भीमदत्त नगरपालिकासँग नदीजन्य वस्तुको ठेक्का सम्झौता गरेका थिए। सो सम्झौता गर्ने बेला नगरपालिकाका तर्फबाट भने तत्कालीन निमित्त हाकिम हरिदत्त जोशीले हस्ताक्षर गरेका थिए। जसमा हरिदत्त जोशीलाई मुद्दा चलाइएको छ तर तेजबहादुरलाई छुट दिइएको छ।
यस्तै त्यसपछिको आर्थिक वर्षको ठेक्कामा भने अख्तियारले कम्पनीका तर्फबाट प्रतिनिधि बसेका दिवाकर भट्टलाई र नगरपालिकाका तर्फबाट सम्झौता गर्ने दुबैलाई मुद्दा लगाइएको छ। सोही प्रकृतिको मुद्दामा तेजबहादुरलाई छुट दिएर दिवाकरलाई मुद्दा लगाउनुले अख्तियारमाथि नै प्रश्न उठेको छ।
अस्ती मंगलबारमात्रै आर्थिक वर्ष २०७६/०७७ मा नदीजन्य वस्तुको राजस्व चुहावट गरी भ्रष्टाचार गरेको आरोपमा भीमदत्त नगरपालिकाका तत्कालीन नगरप्रमुख र प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ।
२०७६/०७७ मा प्राकृतिक स्रोतबाट (नदीजन्य) प्राप्त हुने आयको ठेक्कामा नगरपालिकाले नियमविपरीत छुट दिएको भन्ने उजुरी आयोगमा परेको थियो। सोही उजुरीअनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोग तत्कालीन नगरप्रमुखसहितका १० जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो। अनुसन्धानका क्रममा भीमदत्त नगरपालिकाका तत्कालीन नगरप्रमुख सुरेन्द्रबहादुर विष्ट र तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिदत्त जोशीले राजश्व चुहावट गरेको पाइएको आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
आयोगका अनुसार नगरप्रमुख विष्टको अध्यक्षतामा बसेको नगरसभाको निर्णयले राजस्वमा छुट दिने मनसायसहित ५ सदस्यीय कार्यदल गठन गरेको थियो। सोही कार्यदलको सिफारिसका आधारमा १ करोड ३४ लाख ९७ हजार ४५३ रुपैयाँ छुट दिने निर्णय अनुमोदन गरी ठेक्का सम्झौताअनुसार राजस्व नउठाइ चुहावट गरेको पुष्टि भएको आयोगले जनाएको छ। आयोगले चुहावट भएको रकमको दोब्बर जरिवानाको मागसहित विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।
आयोगले तत्कालीन कार्यदलका संयोजक तथा सदस्यहरू तत्कालीन वडा नम्बर १७ का अध्यक्ष हिमालबहादुर चन्द, इन्जिनियर हिमालयसिहं ऐर, लेखा अधिकृत गोविन्द उपाध्याय, लेखा अधिकृत (छैटौं) विक्रम भण्डारी र नायव सुब्बा नरेन्द्रदेव भट्टविरुद्ध पनि मुद्दा दायर गरेको छ। यस्तै, आयोगले सोही कसुरमा भवानी कन्स्ट्रक्सन प्रालिका संचालकहरू ईश्वरीप्रसाद भट्ट, केशवराज भट्ट, पुष्पराज भट्ट, ईश्वरीप्रसाद भट्टको नजिकको हकदार श्रीमती खगेश्वरी भट्टलाई पनि मतियारको रुपमा प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ।
तर, सो मुद्दाका बलिया आरोपित तेजबहादुरलाई भने उन्मुक्ति दिइएको हो।
र, यो पनि: