काठमाडौं : जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत मुद्दा शाखा हेर्ने प्रहरी निरीक्षक(इन्सपेक्टर) बिनु शाहीबाट यातना भोगेका प्रहरी जवानले अन्ततः निवेदन दिएका छन्।
बाजुरामा कार्यरत रहेका प्रहरी जवान नरेन्द्र नाथले बिदामा महेन्द्रनगर आएको बेला शाहीबाट यातना खेप्नुपरेको र त्यसपछि राजीनामा दिन बाध्य बनाएको भन्दै खुलासा भएको थियो।
आफूमाथि भएको ज्यादतीविरुद्ध प्रदेश प्रहरी कार्यालयमा पुग्दा समेत न्याय नपाएर राजीनामा दिएको बताउने उनले आज जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा इन्सपेक्टर शाहीविरुद्ध निवेदन दिएका हुन्। नाथले निवेदनमा इन्सपेक्टर बिनु शाही तथा उनको निर्देशनमा आफूमाथि भएका ज्यादतीको शिलशिलाबारे खुलाएका छन्।
पुस २२ गते जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा बिदाबारे बुझ्न जाँदा आफूलाई घेरा हालेर गिरफ्तार गर्दै कुटपिट गरेको उनले प्रमुख जिल्ला अधिकारीलाई जानकारी दिएका छन्।
यस्तो छ उनको निवेदनः
श्रीमान प्रमुख जिल्ला अधिकारी ज्यू
जिल्ला प्रशासन कार्यालय कञ्चनपुर
उपरोक्त विषय सम्बन्धमा म जिल्ला प्रहरी कार्यालय बाजुरामा प्रहरी जवान पदमा कार्यरत रही आएको अवस्थामा मिति २०८०/९/१७ देखि लागू हुनेगरी (४ दिन घर बिदा) आफ्नो वासस्थान तथा परिवारका सदस्य भएको स्थान जिल्ला कञ्चपुर भीमदत्त नगरपालिका–९ मा आई मिति २०८०/०९/२१ मा थप २० दिन घर बिदा माग गर्न श्री जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरमा गई बिदा थप गराई लिएकोमा मिति २०८०/०९/२२ गतेका दिन अ १५ः४५ को समयमा श्री जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरमा विदा स्विकृत भए नभएको सम्बन्धमा म तथा प्रहरी जवान सुरेश चन्दसँग बुझ्न जाँदा जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरको प्रशासनको अगाडि पुग्दा केही परिचित व्यक्तिहरुसँग भलाकुसारी गरी राखेको अवस्थामा प्रहरी निरक्षक बिनु शाहीको निर्देशनमा म समेतलाई घेरा बन्दी गरी समाती मुद्दा शाखामा लगि मलाई प्रहरी निरीक्षक बिनु शाहीले लात मुक्का समेतले कुटपिट गरी तिमीहरु किन म कहाँ आएको हो भनी धम्काउदै गर्दा मैले बिदा स्विकृत भए नभएको बुझ्न आएको जवाफ दिँदा एक्कासी म समेतलाई थुनामा राख निर्देशन गरी अनाहकमा किन यस्तो गर्नुहुन्छ भनी आग्रह गर्दा समेत कुनै सुनवाई भएन सो राति मलाई थुनुवा गृहमा नै राखी अर्को दिन दिउँसो काठका मुडाहरु बोक्न लगाई शारिरिक हैरानी दिन लगाइयो ।
साँझपख विभिन्न कागजहरुमा दस्तखत गर्न लगाई प्रहरी सुत्ने कोठामा निज प्रहरी निरीक्षक बिनु शाहीले मुखमा तथा शरिरका अंगहरुमा समेत लात मुक्का समेतले निर्घात कुटपिट गरियो । पश्चात मलाई ३ नम्बर सेलमा थुनुवा गरी राखियो तेस्रो दिन राति ८ः३० बजेको समयमा घरका मानिसहरु बोलाई जिम्मा लागाइयो । सो समय राजीनामा गर्ने अन्यथा जबरजस्ती करणी वा अभद्र व्यवहारको मुद्दा लगाई कारबाही गर्ने धम्की दिइयो ।
यी क्रियाकलापबाट म आजित भएको र मलाई मानसिक तथा शारिरिक यातना समेत दिइएबाट विछिप्त रहेको तथा कानमा समेत चोट लागेकोले अन्यायका डरले बाध्यताबस कार्यरत निकायमा गई राजीनामा दिन बाध्य बनाइयो । उपरोक्त परिस्थिति विद्यमान रहेकोले गाउँ समाजका भद्र भलादमीको सहयोगमा अन्यायविरुद्ध कानुनी उपचारमा जाने ऊर्जा मिलेकोले मलाई यातना दिन प्रारम्भ भएको मिति २०८०/९/२२ को दिउँसो ३ बजे देखि मिति २०८०/९/२४ को राति ९ बजेको समय सम्मको श्री जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा जडान भएको सीसीटिभी फुटेजहरु प्रमाण प्रयोजनको लागि सुरक्षित गराइ पाउन श्री जिल्ला प्रहरी कार्यालय कञ्चनपुरलाई निर्देशन जारी गरी पाउन सादर अनुरोध गर्दछु ।
उक्त विषयमा कञ्चपुरका प्रमुख जिल्ला अधिकारी(सीडिओ)गोपालकुमार अधिकारी ती प्रहरी जवानले निवेदन दिएको र आवश्यक जाँचबुझ भइरहेको बताए । यस्तै सुदूरपश्चिमका प्रहरी प्रमुख डीआइजीले पनि घटनाको बारेमा बुझिरहेको र प्रहरी दोषी देखिए कारबाही गरिने बताएका छन्।
के हो घटना ?
विगतमा पनि खराब छवि बनाएकी इन्सपेक्टर बिनु शाहीलाई एकपटक विभागीय कारबाहीस्वरुप सचेत गराइसकिएको थियो। गत बैशाखमा कञ्चनपुरमा रिपोर्टिङका क्रममा पत्रकारहरुमाथि अप्रिय व्यवहार देखाएको भन्दै शाहीसहित ४ जनालाई विभागीय कारबाही स्वरुप सचेत गराइको थियो।
महेन्द्रगरको सुकसाल चोकमा प्रहरी र भारतबाट क्यारिङमा सामान बोक्नेहरुबीच झडप भइरहेका बेला भिडिओ खिचिरहेको अवस्थामा पत्रकार राजेन्द्र नाथ र ऐश्वर्या कुँवरलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। कुँवरलाई त कुटपिट समेत गरिएको थियो।
पुसमा पनि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको थुनुवा कक्षभित्रै थुनुवाले नै अर्का थुनुवा कुट्दासमेत बाहिर भएका प्रहरी हेरेर बस्ने गरेको खबर बाहिरिएको थियो। पुस २१ गते लागुऔषध मुद्दामा पक्राउ परेका सन्जय थापामाथि अर्का थुनुवा हरिश भट्टले कुटपिट गरि घाइते बनाएका थिए।
लागुऔषध मुद्दामा नै पक्राउ परेका हरिश भट्टले भित्रै त्यस्तो दादागिरी गर्दासमेत प्रहरीले केही नगरेको पीडितका बुवाले गुनासो गरेका थिए। त्यतिबेला छोरा कुटिएको घटनाबारे बुझ्दा मुद्दा शाखाकी प्रहरी निरीक्षक(इन्सपेक्टर) बिनु शाहीले गोलमटोल जवाफ दिएको बुवाले बताएका थिए। शाहीले भित्र भएको कुटपिटबारे प्रहरीले थाहा नै नपाएको जवाफ दिइन्।
अहिले भने तिनै इन्सपेक्टर बिनु शाहीका कारण एक प्रहरी ‘डिप्रेशन’मा जाने अवस्थामा पुगेका छन्। बाजुरामा कार्यरत प्रहरी जवान नरेन्द्र नाथ (नवीन)ले शाहीकै कारण आफ्नो सामाजिक र पेसागत जीवन समाप्त भएको पीडा पोखेपछि महेन्द्रनगरपोष्टले समाचार सम्प्रेषण गरेको थियो।
त्यसपछि आफ्नो बारेमा समाचार आएपछि सामाजिक सञ्जालमार्फत गैरजिम्मेवारी प्रतिक्रिया दिएकी थिइन्। उनले समाचारलाई भ्रामक भएको भन्दै लेखेकी थिइन्,‘मेरा धेरै शुभचिन्तक मित्रहरुले भ्रामक समाचारमा रमाइलो मानेर गुनगान गरेकोमा मलाइ पनि रमाइलो लागेकै छ। दु:ख केवल एउटा कुरामा मात्र हो मेरो नाम गलत लेखेकोमा। नाम बिनु शाही हो बिना शाही होइन्। धन्यवाद।’
तर जिल्ला प्रहरी भने उनको कर्तुत लुकाउन लागिपरेको छ। पीडित भनिएका प्रहरी जवानसँग सोधपुछ गरि घटनाबारे अनुसन्धान गर्नुपर्नेमा कार्यालयले बिनुको बचाउ गर्दै विज्ञप्ति नै जारी गरेको हो। तर, त्यो विज्ञप्तिले कञ्चनपुर प्रहरीको फितलो सुरक्षा व्यवस्थापनबारे उजागर गरिदिएको छ।
सो विज्ञप्तिमार्फत कञ्चनपुर प्रहरीका प्रवक्ता डीएसपी प्रकाश डाँगीले इन्सपेक्टर शाहीको कुनै गल्ती नसमेटी तत्कालीन प्रहरी जवान नाथ अनाधिकृत रुपमा प्रहरी हिरासतमा घुसेको जनाएका छन्। यस्तै पुस २२ गतेका दिन नाथ दिउँसोको समयमा आफूखुसी हिरासत कक्षमा गएको र त्यहाँका थुनुवाहरुलाई सुर्ती, गुट्खाजन्य पदार्थ दिइरहेको अवस्थामा फेला परेको डीएसपी प्रकाश डाँगीले जानकारी दिएका छन्। विज्ञप्तिमा ती तत्कालीन प्रहरी जवान नाथलाई थुनिएको र यातना दिइएको कुरा भने उल्लेख छैन।
शाहीले पटकपटक थुनुवा तथा आफूभन्दा तल्लो तहका प्रहरी कर्मचारीहरुलाई यातना दिने गरेका घटनाहरु बाहिरिए पनि उनलाई कुनै कारबाही भएको छैन।
हाकिमसँग राम्रो सम्बन्ध भएका कारण शाहीलाई उन्मुक्ति मिलिरहेको स्रोतको बुझाई छ। शाहीले महेन्द्रनगरका कयौं सेवाग्राही र नागरिकलाई दु:ख दिएको बुझिएको छ। एसपी कमल थापाको संरक्षणमा यी सबै गतिविधि भइरहेको बताइन्छ।
यो पनि:
कञ्चनपुर प्रहरीको कस्टडीभित्रै छिर्छ अवैध सामान, प्रहरी के हेरेर बस्छ र?
कञ्चनपुरकी ‘विवादित’इन्सपेक्टर बिनु भन्छिन्- रमाइलो लाग्यो !
इन्सपेक्टर ‘बिनु’को ज्यादती भएपछि जवानको ‘रिजाइन्’
कञ्चनपुरमा पुलिस थुनाभित्रै कुटिन्छन् थुनुवा ! इन्सपेक्टर बिनुको गोलमटोल जवाफ [भिडिओे]
कञ्चनपुरमा पत्रकार कुट्ने यी ३ इन्सपेक्टर र एक असई कारबाहीमा
यस अगाडि उक्त समाचार सामग्रीमा प्रयोग गरिएको शव्दको भाषाशैली संशोधन गरिएको छ। -सम्पादक