धनगढी : कैलालीमा एक इन्सिच्युटले ठगी गरेको छ।
धनगढीको इन्सिच्युट अफ हस्पिटालिटी एण्ड इनफर्मेसन टेक्नोलोजी प्रालिले विद्यार्थीलाई नक्कली शैक्षिक प्रमाणपत्र थमाएर भिजिट भिसामा विदेश पठाइदिने भन्दै ठगी गरेको हो।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)बाट ३९० घण्टाको छोटो अवधीका तालिम सञ्चालन गर्ने अनुमति लिएको भए पनि सीटीईभीटीको लोगो प्रयोग गरेर तीन वर्षे डिप्लोमा तहका सिप विकास तालिम उत्तीण गरेको नक्कली शैक्षिक प्रमाणपत्र दिँदै ठगी गरेको हो।
नक्कली शैक्षिक प्रमाणपत्र थमाएर भिजिट भिसामा इनटर्नसीप गराउने दुबई पठाउने भन्दै रकम असुली गरेको धनगढी उपमहानगरपालिका–३ बिशालनगरका महेन्द्र चन्दले गुनासो गरे।
‘मलाई दुबै पठाउँछु भनेर २ लाख ५० हजार प्रन्सिपल सविन रोकाया सरले लिनुभएको थियो। २५ गते काठमाडौं लगाउनुभयो। २८ गते फ्लाइट छ भन्नुभयो,’ उनले भने, ‘काठमाडौं जाँदासम्म भिषाको प्रोसेस गर्नुभएको थिएन्। खाना बस्नको व्यवस्था मिलाइदिनु सरभन्दा पनि म सक्दैन् भन्नुभयो।’
त्यसैमा थप्दै उनले भने, ‘काठमाडौमा भएको सरसँग कुरा गर्दा तिम्रो पैसा आएको छैन्। सविन सरसँग कुरा गर भन्नुभयो। यता सर (सविन) लाई फोन गर्दा मैले तिम्रो पैसा दिइसकेको हुँ, त्यतै कुरा गर भन्नुभयो। काठमाडौंको सरले तिमी धनगढी गएर के गर्न सक्छौ गर जाउ भन्नुभयो।’
गत वर्ष एसईई परीक्षा उर्तिण गरेर उक्त इन्सिच्युटमा होटल म्यानेजमेन्टमा डिप्लोमा अध्ययन गर्न भर्ना भएका उनले एक लाख ८० हजार पढ्नको लागि फि र दुई लाख ५० हजार विदेश जानलाई पैसा दिएको बताए।
६ महिना मात्र उक्त इन्सिच्युटमा अध्ययन गरेका चन्दलाई प्रोफेसनल डिप्लोमा इन हस्पिटालिटी म्यानेजमेन्ट (लेबल–३) उत्र्तिण गरेको प्रमाणपत्र दिइएको छ।
होटल म्यानेजमेन्टमा डिप्लोमा अध्ययन गराएर इन्टर्नसीप गर्न विदेश पठाउने प्रलोभन देखाएर भर्ना गरेको इन्सिच्युटले आफूहरुको भविष्यमाथि खेलवाड गरेको भन्दै विद्यार्थीले कारबाहीको माग गर्दै विरोध गरेका छन्।
टेक्नोलोजीका प्रिन्सिपल सबिन रोकायाले भने अभिभावकै आग्रहअनुसार भिजिट भिसामा विदेश पठाउन खोजेको दाबी गर्दै आएका छन्।
सिटीईभीटीबाट सम्बन्धन प्राप्त गरेको अवस्थामा समेत आफ्नै लोगो र छाप प्रयोग गर्नुपर्ने भएपनि इन्सिच्युटले विद्यार्थीलाई दिएको सर्टिफिकेटमा सिटीईभीटीसँगै ओथम क्वालिफिकेसन लेखिएको लोगो प्रयोग गरेको छ।
तर, प्रिन्सिपल रोकायाले भने सर्टिफिकेटमा सिटीईभीटीको लोगो त्रुटीबस पर्न गए पनि ओथम भन्ने संस्था बैध नै भएको दाबी गरेका छन्।
भिडियोसहित :