दार्चुला : नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल दार्चुला आउने भएका छन् ।
नेकपा एमाले दार्चुलाको नवौं जिल्ला अधिवेसन कार्यक्रमलाई उद्घाटन एवम सम्बोधन गर्न उपाध्यक्ष पोखरेल अगामी मंगलबार दार्चुला आउने कार्यक्रम तय भएको एमाले दार्चुलाले जनाएको छ ।
नेकपा एमाले दार्चुलाले यहि पुस १८ र १९ गते जिल्ला सदरमुकाम खलंगामा पार्टीको नवौं जिल्ला अधिवेसन कार्यक्रम आयोजना गरेपछि कार्यक्रमलाई सम्बोधन गर्न बरिष्ठ उपाध्यक्ष पोखरेल दार्चुला आउन लागेको जिल्ला कमिटि अध्यक्ष प्रेम सिह धामीले जानकारी दिए ।
अहिले जिल्लामा नवौं जिल्ला अधिवेसनका लागि प्रचार प्रसार समेत तिब्र बनाइएको छ । बरिष्ठ उपाध्यक्ष पोखरेल मंगलबार १७ गते बेलुकी दार्चुला पुग्ने कार्यक्रम रहेको छ । उनीसंगै पार्टीका केन्द्रीय सचिव तथा सुदुरपश्चिम प्रदेश इन्चार्ज छविलाल विश्वकर्मा दार्चुला पुग्ने भएका छन् ।
एमाले दार्चुलाको नवौँ जिल्ला अधिवेसन उद्घाटन कार्यक्रममा एमाले अध्यक्ष एबं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहित केन्द्रीय पदाधिकारीहरुलाई आमन्त्रण गरिएको भए पनि ओलीको कार्यब्यस्ताले गर्दा दार्चुला नआउने र उपाध्यक्ष पोखरेल दार्चुला आउने तयारी भएको जिल्ला कमिटि अध्यक्ष धामीले बताए ।
यसअघि पोखरेल २०७६ सालमा दार्चुला उद्योग वाणिज्य सङ्घको आयोजना गरेको दार्चुला महोत्सवको उद्घाटन गर्न उपप्रधानमन्त्री तथा रक्षामन्त्रीको रुपमा दार्चुला आएका थिए ।
नेकपा एमाले दार्चुलाले केहीदिन पहिले अधिवेसनको लोगो सार्वजनिक गरेको छ । दार्चुलाका ६१ वडामै पुस १४ गते पर्सि एकसाथ अधिवेसन प्रतिनिधि चयन गरिने भएको छ । अधिवेशनका लागि वडा, पालिकाबाट साढे चार सय जति प्रतिनिधि आउने एमाले दार्चुलाले जनाएको छ ।