काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा धरौटीमा रिहा भएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँण एक वर्षपछि पार्टी कार्यालय सानेपा छिरेका छन्।
उनी पार्टीको केन्द्रीय समिति बैठकमा सहभागी हुन् सानेपा छिरेका हुन्।
नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि गत वर्ष वैशाख २७ गत पक्राउ परेका उनी मंसिर २९ धरौटीमा रिहा भएका थिए। गत वर्ष भदौ ५ मा बसेको केन्द्रीय समिति बैठकपछि पहिलो पटक खाँण आज केन्द्रीय समिति बैठकमा सहभागी भएका छन्।
यसअघि साउन २ र असोज ४ मा केन्द्रीय समिति बैठक बस्दा उनी केन्द्रीय कारगार सुन्धारमा थिए। उक्त बैठकमा खाँणलाई पार्टीको केन्द्रीय सदस्यबाट निलम्बन गर्ने–नगर्नेबारे चर्को बहस भएको थियो।
कांग्रेस संस्थापन पक्षले अडानले खाँणको निलम्बन रोकिएको थियो। बिहीबारदेखि पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकको दोस्रो दिन खाँण सहभागी भएका छन्। नियमति स्वास्थ्य जाँच गराउनुपर्ने भएकोले उनी हिजो बैठकमा सहभागी भएका थिएनन्।