काठमाडौं : नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई जेलमा सहयोग गरेको उपलक्ष्यमा उपसचिव बसन्तराज पुरीले स्वकीय सचिवको उपहार पाएका छन्।
पुरीले रेशम चौधरीलाई जेलमा सहयोग गरे बाफत भूमी व्यवस्था मन्त्री रन्जिता श्रेष्ठ चौधरीको स्वकीय सचिवको उपहार पाएका हुन्।
पुरी डिल्लीबजार कारागारको जेलर हुँदा रन्जिताका श्रीमान रेशम सोही जेलमा थिए।
सो समयमा उनले जेलभित्र सहज वातावरण बनाइदिनेदेखि भेटघाटमा पुरीले सहजीकरण गरिदिएका थिए। त्यही कारण रन्जितासँगको उनको राम्रो चिनजान भयो।
त्यतीबेला सहयोग गरेबापत रन्जिताले पुरीलाई आफ्नो सचिवालयमा राखेकी हुन्।
पुरी तीनै हुन्, जो राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने गृहमन्त्री हुँदा लमजुङको सिडिओ बनेका थिए। तर, नारायणकाजीले तीन महिनामै उनलाई ताने।
त्यसपछि पुरी रन्जिताको सचिवालयमा बसेका हुन्। तर, मन्त्रालयमा उनको भूमिका भने राम्रो नभएको कर्मचारीहरु बताउँछन्। कर्मचारी सरुवामा पुरीले नै सूची बनाउने गरेको मन्त्रालय स्रोत बताउँछ।
खासगरी मालपोत र नापीका कर्मचारीको सरुवामा चलखेल हुँदै आएको छ। जसमा मन्त्रीको सचिवालय मुछिएको छ। धेरै जसो सरुवा आर्थिक चलखेलका आधारमा भएको एक कर्मचारी बताउँछन्।
डिल्लीबजार कारागारमा हुँदा पनि जेलभित्र डनतन्त्र चलाएकोमा उनी आलोचित बनेका थिए।