धनगढी: सुदूरपश्चिममा नेपाल स्काउटले अभियानहरु तीव्र पारेको छ। अनौपचारिक शिक्षा तथा सामाजिक एवं बालबालिकाको विकासको क्षेत्रमा क्रियाशील स्काउटले प्रदेशका विभिन्न स्थानहरुमा अभियान तथा कार्यक्रमहरु गरिरहेको हो।
हालैमात्र स्काउटले सुदूरपश्चिमका विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको र यहीँ पुस १३ गतेदेखि १५ गतेसम्म धनगढीमा युथ फोरमको कार्यक्रम गरेको बताइएको छ।
नेपाल स्काउट सुदूरपश्चिम प्रदेशस्थित तदर्थ समितिका संयोजक नरेन्द्र थापा (सहवीर) का अनुसार युथ फोरमको कार्यक्रमले निर्वाचन प्रक्रियाबाट प्रदेश युथ फोरमको कमिटी निर्माण गरेको छ। समीर भण्डारीको नेतृत्वमा ११ सदस्यीय कमिटी निर्वाचित भएको हो।
सो कार्यक्रममा सुदूरपश्चिमका सबै जिल्लाका स्काउट रेन्जर र रोभरहरु सहभागी थिए। सो कार्यक्रमबाट गठित समितिको कार्यकाल तीन वर्षको हुन्छ। जसमा सुदूरपश्चिमका सबै जिल्लाका रजिस्टर भएका क्रियुहरुका सदस्य सहभागी थिए।
प्रशिक्षणसँगै प्रतिनिधि छनोट
यस्तै धनगढीमै सम्पन्न अर्को कार्यक्रमबाट स्काउटरहरुलाई प्रशिक्षण पनि दिइएको छ। विश्व स्काउटको पुरुष संगठनका प्रशिक्षक देवराज घिमिरेले प्रशिक्षण उनीहरूलाई प्रशिक्षण दिएका हुन्। स्काउट शान्ति तथा सुरक्षा कार्यक्रम सम्बन्धिको उक्त प्रशिक्षण फिनल्यान्ड स्काउटस् एण्ड गाइड र नेपाल स्काउटको संयुक्त सहकार्यमा भएको हो।
सो स्काउट शान्ति र सुरक्षा सम्बन्धि ३ दिने अभिमुखीकरण कार्यक्रममा युवालाई शान्ति तथा द्वन्द्व व्यवस्थापनको विषय र सामाजिक रुपमा शान्ति स्थापना र द्वन्द्वरहीत समाज निर्माणमा युवाको भूमिका के हुने ? भन्ने विषयमा प्रशिक्षण दिइएको थियो। जसले गर्दा युवाहरुमार्फत सामाजिक द्वन्द हुन नदिन पहल गर्नेबारे पनि संयुक्त छलफल तथा प्रशिक्षण गराइएको थियो।
यस्तै सोही कार्यक्रमले सुदूरपश्चिम प्रदेशबाट ६/६ महिला र पुरुषलाई स्काउटको राष्ट्रिय परिषद्का लागि प्रतिनिधि बनाई पठाइएको पनि बताइएको छ।
ट्राफिकबारे पनि प्रशिक्षण
सोही कार्यक्रमकै क्रममा एक दिने ट्राफिक सचेतना पनि गरिएको बताइएको छ। आज (मंगलबार) स्काउटकै आयोजनामा जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक दिपक मल्लले ट्राफिकबारे प्रशिक्षण दिएका थिए।
युवाहरुलाई प्रशिक्षणको क्रममा उनले ट्राफिक नियमको पूर्ण पालना, सडक प्रयोग गर्दा ध्यान दिनुपर्ने कुरा, सवारी दुर्घटनाबाट बच्ने उपाय, ट्राफिक चिन्ह तथा संकेतबारे जानकारी दिएका थिए भने सुरक्षित यात्रा सहितको सडक प्रयोग सम्बन्धमा उनले जानकारी दिलाएका थिए।
स्काउट के हो ?
सुदूरपश्चिमसहित देशभर सक्रिय स्काउट विश्वको सबैभन्दा ठूलो अनौपचारिक शिक्षाको अभियान मानिन्छ। यसको विश्वमा ७० मिलियन बढी स्वयंसेवक रहेको दाबी गरिएको छ भने यसले मुलतः बालबालिकाको क्षेत्रमा काम गर्दै आएको बताइन्छ।
यसले सामाजिक, अध्यात्मिक, शारीरिक, बौद्धिक र भावनात्मक क्षेत्रमा कामहरु गर्दै आएको छ।
सुदूरपश्चिममा मात्रै यसको १२ हजार विद्यार्थी सदस्यहरु छन्। पछिल्लो समय स्काउटमा प्रदेशभर आकर्षण बढ्दै गएको भएपनि यसमा प्रदेश सरकारले भने आवश्यक लगानी गर्न सकेको छैन।
प्रदेश सरकारले समन्वय गरेर युवा तथा बालबालिकाको क्षेत्रमा काम गर्न सके सामाजिक समस्याहरु निराकरणमा मदत पुग्ने स्काउटरहरुको विश्वास छ। यस्तै केही स्थानीय सरकारहरुले भने स्काउटसँग समन्वय गरेर अभियान चलाइरहेको भएपनि सुदूरपश्चिममा स्काउट लिडरको अभावका कारण चुनौती पनि रहेको प्रदेश संयोजक थापाको भनाई छ।
उनका अनुसार सुदूरपश्चिममा तालिमप्राप्त प्रशिक्षक तथा शिक्षक नहुँदा स्काउट वृद्धिमा चुनौती थपिएको हो। स्काउट अभियान तथा स्काउटर बढाउन सके शान्तिपूर्ण सुदूरपश्चिम तथा प्रदेशका सामाजिक विकृति, कुरिती एवं विभिन्न सामाजिक समस्यासहित लागुऔषधसमेत कन्ट्रोल गर्न मदत पुग्ने थापाको दाबी छ। अहिले नेपाल स्काउटले अध्यावधिकका लागि अभिलम्बन गरेको अनलाईन सिस्टममा सुदूरपश्चिम प्रदेशबाट करिब ६ सय युनिटहरु दर्ता भएको बुझिएको छ।