डडेल्धुरा : गत मंसिर ३० गते डडेल्धुरा सदरमुकाममा आगलागी भएको स्थलको सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले अनुगमन गरेका छन्।
आज (आइतबार ) मुख्यमन्त्री शाहले आगलागी भएको पसलको अनुगमन गरेका हुन्।
उनी यसअघि डडेल्धुरा हुँदै अन्य पहाडी जिल्ला गएपनि २३ दिनपछि मात्रै आगलागी भएको स्थलको अनुगमन गर्न पुगेका हुन्।
अनुगमनका क्रममा उनले पीडितलाई क्षतिपूर्ति दिलाउन सहयोग गर्ने आश्वासन दिएका थिए। मुख्यमन्त्रीले क्षतिको विवरण समेत टिपेर लगेका थिए।
डडेल्धुरामा गत मंसिर ३० गते राति भएको आगलागीबाट दुई करोड ८६ लाख रुपैयाँ बराबरको क्षति भएको थियो।
अमरगढी नगरपालिका–५ बागबजारमा रहेको शुलभ फेन्सीमा तार सर्ट भई सुरु भएको आगलागीबाट दुई करोड ८६ लाख रुपैयाँ बराबरको क्षति भएको हो।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार बागबजारको शुलभ फेन्सीको अन्दाजी १ करोड २० लाख, कैलपाल मेडिकलको अन्दाजी ८० लाख र शिशिर फेन्सीका ८० लाख रुपैयाँ बराबरको सामान जलेर नष्ट हुनुका साथै घरधनी महेशप्रसाद भट्टको अन्दाजी ६ लाख रुपैयाँ बराबरको क्षति भएको थियो।