धनगढी : नेपाल टेलिकमको सुदूरपश्चिम प्रादेशिक कार्यालयले लगाएको ८ करोड रुपैयाँ बराबरको तामाजन्य कवाडीको ठेक्कामा लफडा भएको छ । प्रादेशिक कार्यालयले मिलेमतो (सेटिङ) मा ठेक्का दिएर सम्झौता विपरीत कवाड पैठारी गरिरहेको भन्दै विवाद भएको छ ।
नेपाल टेलिकमसँग सम्झौता गरेर प्रदेशका ९ वटै जिल्लाबाट तामाजन्य कवाड उठाइरहेका काठमाडौँको बीएनएस कन्सट्रक्सनले मिलेमतोमा सम्झौता विपरीत कवाडको तौल नगरेर पैठारी गर्ने गरेको भन्दै केही दिनदेखि विवाद चलिरहेको छ । विवादीत बनेको बीएनएस कन्सट्रक्सनले कवाड बोकेर लगिरहेको अवस्थामा कैलालीको गेटामा स्थानीयले ट्रक रोकिदिएका छन् ।
इलाका प्रहरी कार्यालय मालाखेतीका निमित्त प्रमुख प्रहरी निरीक्षक रबिन्द्र कठायतले नेपाल टेलिकमबाट तौल नगरेर बढि तामाजन्य सामान लगेको भन्दै गेटामा स्थानीयले बीएनएस कन्सट्रक्सनको ट्रक रोकेपछि विवाद भएको बताए । कठायतले ठेकेदारले तौल नगरेर कवाड ओसार्ने गरेको गुनासो आएपछि थप कुरा नेपाल टेलिकमसँग बुझ्न आग्रह गरे ।
यता, नेपाल टेलिकम प्रादेशिक कार्यालय अत्तरियाका प्रमुख सरोज मल्लले तामाजन्य कवाडको ठेक्का पाएको बीएनएस कन्सट्रक्सनले तौल गरेरै कवाड उठाएको दाबी गरे । उनले तौल नगरेको शंका लागेमा प्रहरीको रहोबरमा पुनः तौल गर्न सकिने बताए ।
मल्लकाअनुसार केही महिनाअघि प्रदेशका ९ वटै कार्यालयबाट तामाजन्य कवाड बिक्रिका लागि बीएनएस कन्सट्रक्सनसँग ८ करोड बढिमा ठेक्का सम्झौता गरिएको बताए तर ९ वटै जिल्लामा १० करोड भन्दा बढिको तामाजन्य कवाड रहेको बताउँदै सम्झौतामै बढि सामान भए अनिवार्य सो बराबरको रकम बुझाउनुपर्ने उल्लेख गरिएको जानकारी दिए ।
उनकाअनुसार बढि सामान भए सोअनुसारको रकम नबुझाएमा धरौटी जफत गर्ने र कम भए धरौटी राखिएको रकम फिर्ता गर्नेगरी सम्झौता गरिएको मल्लको भनाई छ । तर नेपाल टेलिकमले मिलेमतोमा कवाडको ठेक्का पारेर कर्मचारीले ठेकेदारबाट आर्थिक लाभ लिएको आरोप स्थानीयले लगाएका छन् ।