धनगढी : भारतबाट सुदूरपश्चिमको नाका हुँदै नेपालको राजधानीसमेत रहेको काठमाडौंसम्म गाडी तस्करी गर्नेहरूको नेक्सस पत्ता लागेको छ। नेपाल प्रहरीको अपराध अनुसन्धान महाशाखाको टोलीको उक्त नेक्ससको भण्डाफोर गरेको हो।
अहिलेसम्म यसरी भारतबाट चोरीका गाडी नेपालमा ल्याएर तस्करी गर्दै बेचविखन गर्ने गराउने प्रकरणमा ६ जनालाई पक्राउ गरिएकोमा २ जना भने छुटेका छन्। यस नेक्ससमा महाशाखाको टोलीले नै देशभर प्रारम्भिक अनुसन्धान गरेको थियो। सो क्रममा प्रहरीले सुरुमा काठमाडौंबाट पुस ८ गते २ जना मान्छेलाई पक्राउ गरेको थियो। सुरुमा उनीहरु भारतबाट चोरिएका ५ ओटा गाडीसहित पक्राउ परेका थिए।
उनीहरुले चोरीका गाडीको नक्कली सवारी दर्ता किताव बनाउने गर्दथे। यस्तो अपराध गर्नेमा काठमाडौंमा बस्दै आएका तर काभ्रेको तेमाल खास घर भएका ४२ वर्षीय दिलबहादुर घिसिङ, सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका-१ का ३३ वर्षीय आइतसिंह तामाङ रहेको प्रहरीले जानकारी दिएको छ।
पक्राउ गरेर उनीहरूलाई लिखत किर्तेसम्बन्धी कसुरमा थप अनुसन्धान तथा कारवाहीका लागि आइतबार जिल्ला प्रहरी परिसर टेकु पठाइएको थियो। त्यसपछि उनीहरूले यो तस्करी तथा चोरीको नेक्सस ठूलै रहेको बताएपछि प्रहरीले थप अनुसन्धान थालेको थियो।
प्रहरी स्रोतका अनुसार थप अनुसन्धानका क्रममा यो अपराधको नेक्ससमा कैलालीको भजनी घर भई नेपालगन्ज बस्दै आएका गोकुलप्रसाद श्रेष्ठ जोडिए। उनले भारतबाट आएको चोरीको गाडीहरु काठमाडौंसहित पोखरा लगायतका नेपालका ठूला सहरमा सप्लाई गर्थे। त्यसपछि उनलाई पनि प्रहरीले घरबाटै समातेको थियो भने उनको साथबाट घरबाट छापहरु पनि बरामद गरिएको थियो।
त्यसपछि उनले मुख खोलेपछि यसमा भारतीय तस्कर पनि जोडिए। अपराध महाशाखाका अनुसार श्रेष्ठले आफूले भारतीय एकजना तस्करबाट गाडी लिने गरेको भनेपछि थप अनुसन्धान थालिएको थियो। त्यसपछि केही दिन अगाडि (हालै) गोप्य सूचनाको आधारमा ती भारतीय तस्कर उत्तरप्रदेशको शारजहापुर घर भएका मुसर्रत उल्ला खां समातिए। उनी कैलालीको अत्तरियामा भारतबाट गाडी लिएर आइरहेको अवस्थामा २ ओटा गाडीसहित समातिएका हुन्।
उनीसँग अरु २ जना पनि रहेको बताइएको छ। सो क्रममा उनको साथमा एकजना ड्राइभर हर्कबहादुर कार्की र अर्का कञ्चनपुर घर भएका वान्टेड अपराधी मोहनसिंह ऐरी पनि पक्राउ परेका थिए। जसमा ड्राइभरको भारतबाट गाडी वारपार गराउने भूमिका थियो भने ऐरीले चोरीको गाडीमा लगानी गर्थे। त्यसपछि ती पक्राउ परेका तीन जनामध्ये खांलाई काठमाडौंको टेकु लगियो भने अन्य २ जनालाई कैलालीमै अभद्र व्यवहारमा सार्वजनिक मुद्दा चलाइयो।
तर उनीहरू केही दिनमा छुटेर गरेको कैलाली प्रहरीले जनाएको छ। ती ऐरी उनै मान्छे हुन्, जसको नाममा ७ ओटा मुद्दा चलेको प्रहरी रेकर्डले देखाएको छ। उनीविरुद्ध कञ्चनपुरमा अपहरण, शरीर बन्धक, कर्तव्य ज्यानको उद्योग र लागुऔषध लगायतका मुद्दा चलेको बुझिएको छ।
उनले भारतदेखि महेन्द्रनगर हुँदै काठमाडौंसम्मको नेक्ससमा महत्त्वपूर्ण भूमिका खेल्ने गरेका थिए। उनीसहितको टिमले भारतका विभिन्न सहरबाट चोरीका गाडी लिएर नेपालमा नक्कली नम्बर प्लेट राख्ने, कागजात बनाउने र बेच्ने धन्दा चलाएका थिए। अहिले समातिएका तस्करहरुलाई प्रहरीले टेकुको थुनामा राखेर थप अनुसन्धान गरिरहेको छ। भारतको मुम्बईसम्मै यसको जालो रहेको हुनसक्ने भन्दै सुक्ष्म रुपमा यसको थप अनुसन्धान भैरहेको प्रहरीको भनाई छ।