धनगढी : नेपाल आयल निगमको सुदूरपश्चिम प्रादेशिक कार्यालय धनगढीका हकिमले घुस माग्ने गरेको आरोप लागेको छ । डिपोका प्रमुख मोहनकुमार साहले घुस नदिए पेट्रोलियम व्यवसायीलाई इनधन नै नदिने गरेको आरोप लागेको हो । उनले डिपोबाट पेट्रोल पम्पसम्म इन्धन लग्ने निजी ट्यांकरधनीबाटे मासिक एक लाख रुपैयाँसम्म असुल्ने गरेको आरोप लागेको छ ।
एक व्यवसायीका अनुसार साहले धेरै तेलको कारोबार गर्ने पम्पले माग गरेअनुसारको तेल लैजान डिपो प्रमुख साहलाई एक लाख रुपैयाँसम्म घुस दिनुपर्छ । महिनैपिच्छे रकम दिनुपर्दा आफूहरु पीडित बनेको उनले बताए ।
भनेअनुसार रकम नदिए तेल नै नदिने भएका कारण धनगढीमा पटक–पटक इन्धनको अभाव हुँदै आएको छ । डिपोमा तेल भएर पनि बजारमा अभाव हुने समस्याका कारण जिल्ला प्रशासन कार्यालय कैलालीले गत ६ मंसिरमा उनलाई लिखित स्पष्टिकरण सोधेको थियो ।
डिपोका प्रमुख मोहनकुमार साहले तेल ल्याउन इन्डियन आयल कर्पोरेसन जाने करारका ट्यांकर धनीसँगसमेत रकम माग्ने गरेको आरोप लागेको छ । ढुवानी भाडा भुक्तानी गर्दा साहले कुल भुक्तानीको १.५ प्रतिशतसम्म कमिसन लिने गरेको स्रोत बताउँछ । कमिसन नदिए अर्कोपटकदेखि तेल लिन भारत जाने पालो नदिने बताइएको छ ।
प्रमुख साहले पेट्रोलपम्पको अनुगमन र सुपरिवेक्षण गर्दासमेत ‘चिया खर्च’ माग्ने गरेको एक पम्प व्यवसायीले बताउँछन् । उनले चिया खर्च भन्दै पाँच हजारसम्म माग्ने गरेको बताइएको छ ।
तर उनले यी सबै आरोप स्वीकारेका छैनन् । काम गर्ने मान्छेलाई आरोप लाग्नु स्वभाविक भएको उनको भनाई छ । उनले पम्प व्यवसायीसँग मिलेर पेट्रोलियम पदार्थको आपूर्ति र वितरण गरिरहेको बताएका छन् ।
धनगढी डिपोबाट सुदूरपश्चिमका १०४ वटा पेट्रोलपम्पमा इन्धन वितरण हुँदै आएको छ ।