धनगढी : सुदूरपश्चिम प्रदेशकी उद्योग पर्यटन वन तथा वातावरण राज्यमन्त्री गितादेवी माल सोमबार कार्यालय समयमै ‘मोडल अवतारमा’ देखा परिन् । राष्ट्रियसभाको निर्वाचनको लागि उम्मेद्धारहरुले निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गर्ने समयमा मन्त्री माल मोडल अवतारमा देखिएपछि सबै चकित परे । मन्त्रीको गाडीमा झण्डा हल्लाउदै प्रदेश निर्वाचन कार्यालय पुगेकी मन्त्री मालले औपचारिक पोसाक समेत लगाएकी थिइनन् । उनी जुत्ता, फिटिङ पाइन्ट, स्वीटर र ज्याकेटसहित झण्डावाला गाडीमा त्यहाँ पुगेकी थिइन् ।
मन्त्री मालले पदीय मर्यादा बिर्सिएको र अनौपचारिक पोशाक लगाएर राष्ट्रियसभाको निर्वाचन कार्यालयमा पुगेको भन्दै उनको सर्वत्र आलोचना भइरहेको छ । माओवादी केन्द्रबाट राष्ट्रियसभामा मनोनयन दर्ता गराएकी रेनु चन्दको प्रस्तावक बनेकी माल अनौपचारिक पोशाकमा झण्डावाला गाडीसहित निर्वाचन अधिकृतको कार्यालयमा देखिएपछि उनको आलोचना भएको हो ।
माल राज्यमन्त्री जस्तो सार्वजनिक पदधारण गरेको व्यक्ति भएपनि सरकारी कार्यालयमा मोडल जस्तै देखिनेगरी अनौपचारिक पोशाकमा देखिएपछि त्यहाँ रहेकाहरुले कानेखुसी समेत गरेका थिए । उनीहरुले आफ्नो पदिय मर्यादा समेत ख्याल नगर्ने कस्तो मन्त्री रहेछिन् भन्दै आलोचना गरे ।
तर राज्यमन्त्री मालले भने चन्दले मनोनयन दर्ता गर्ने बेला औपचारिक पोशाकमै निर्वाचन अधिकृतको कार्यालय पुगेको बताइन् । निर्वाचन अधिकृतको कार्यालयले मनोनयन पत्रमा त्रुटी भएकाले सच्याउन आउन भनेपछि बजारबाटै त्यहाँ गएकाले अनौपचारिक पोशाकमै त्यहाँ पुगेको मालको भनाई छ ।
‘मनोनयन दर्ता गर्ने बेला म लोगोसहित औपचारिक पोशाकमै थिए । त्यहाँबाट फर्केपछि आवासमा पुगेर लुगा फेरको थिए,’ मालले भनिन्, ‘त्यही पोशाकमा बजार गएकी थिए । त्रुटी भएको छ । सच्याउनु आउनुस भनेपछि बजारबाटै त्यहाँ पुगेकी हुँ ।’