धनगढी : आउँदो माघ ११ गतेका लागि तय भएको राष्ट्रिय सभा निर्वाचनको सोमबार मनोनयन दर्ता पुरा भएको छ । परिणाम आफ्नो पक्षमा पार्न राजनीतिक दलका नेताहरूको भेटघाट बाक्लिँदो छ। १९ सिटका लागि हुन लागेको निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा तीन सिटको निर्वाचन हुनेछ। जसमा ६ जनाले उम्मेदवारी दिएका छन्।
सत्तापक्षले काठमाडौंमा सहमति गरेअनुसार यहाँ नेपाली कांग्रेसबाट २ र नेकपा माओबादीबाट १ जनाले उम्मेदवारी दिएका हुन्। प्रतिपक्षी दल नेकपा एमालेले रिक्त हुने तीनै स्थानका लागि उम्मेद्वारी दर्ता गरेको छ।
यसअघि सत्तागठबन्धमा रहेका अन्य दल नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीले पनि राष्ट्रिय सभाका लागि भाग पाउनुपर्ने माग राखेका थिए तर, गठबन्धनभित्र उनीहरूको त्यो माग पूरा भएन।
नेपाली कांग्रेसले कैलालीका सभापति नारायणदत्त भट्ट र कञ्चनपुरबाट बलदेव बोहरालाई राष्ट्रिय सभा सदस्य पदको उम्मेदवार बनाएको छ भने
नेकपा (माओवादी केन्द्र) बाट सुदूरपश्चिममा महिला कोटामा रेणु चन्दले उम्मेदवारी दर्ता गरेकी छन्।
सुदूरपश्चिम प्रदेशमा रिक्त हुन लागेका तीनै सिटमा एमालेले उम्मेदवारी दर्ता गरेको छ।
महिलातर्फ कैलालीकी सावित्रा घिमिरे, अपाङ्गतारअल्पसंख्यकतर्फ कैलालीकै रामचन्द्र जोशी र अन्य क्लस्टरबाट कञ्चनपुरका ईश्वरीप्रसाद खरेलले उम्मेदवारी दर्ता गरेका हुन्।
(माओवादी केन्द्र)का हरिराम चौधरी र महेश महरा तथा नेकपा नेकपा एमालेका इन्दु कडरियाको पदावधि सकिएर रिक्त हुन लागेको राष्ट्रिय सभा सदस्य पदमा चुनाव हुन लागेको हो।
राष्ट्रियसभामा उपमहानगरपालिका र नगरपालिकाका प्रमुखरउपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष उपाध्यक्ष र प्रदेशसभाका सांसदले मतदान गर्नेछन्। स्थानीय तहका प्रमुख वा अध्यक्ष, उपप्रमुख वा उपाध्यक्षको मतभार १९ र प्रदेश सभा सदस्यको मतभार ५३ काय गरिएको छ।
सुदूरपश्चिममा ५३ जना प्रदेशसभा सदस्य हुन्छन् । बझाङबाट निर्वाचित पृथ्वीबहादुर सिंहको निधन भएकाले हाल ५२ जना सांसद छन्। जसमा नेपाली कांग्रेसका १८, नेकपा एमालेका ११, नागरिक उन्मुक्ति पार्टीका ७, नेकपा एकीकृत समाजवादीका ४, राप्रपाका १ र स्वतन्त्र १ जना सांसद छन्।
सुदूरपश्चिमका ८८ मध्ये पालिकाको प्रमुख र अध्यक्षमा ४० जना नेपाली कांग्रेसबाट जितेर आएका छन्। यस्तै ४८ जनाले उपप्रमुख वा उपाध्यक्षमा जितेका छन्। यसरी कांग्रेससित स्थानीय तहमा १ हजार ६ सय ७२ मतभार छ। प्रदेश सभामा रहेका १८ जना सांसदको मतभार ९५४ हुन्छ। कांग्रेससित राष्ट्रिय सभा निर्वाचनको लागि २ हजार ६ सय २६ मतभार रहेको छ।
पालिकाका प्रमुख वा अध्यक्षमा १४ र उपप्रमुख वा उपाध्यक्षमा १० गरी माओवादीसित स्थानीय तहबाट ४ सय ५६ मतभार छ। यस्तै ११ जना प्रदेश सांसदको मतभार ५ सय ८३ हुन्छ। उसित जम्मा १ हजार ३९ मतभार छ।
यस्तै नागरिक उन्मुक्तिले पार्टीले पालिकाको प्रमुख वा अध्यक्षमा ४ र उपप्रमुख वा उपाध्यक्षमा ३ ठाउँमा जितेको छ । उसित स्थानीय तहको १ सय ३३ र प्रदेश सभाका ७ सांसदको ३ सय ७१ गरी मतभार ५०४ रहेको छ।
नेकपा एकीकृत समाजवादीबाट स्थानीय तहमा २ प्रमुख र ३ उपप्रमुख गरी मतभार ९५ छ र प्रदेश सभामा चार जना सांसदको २ सय १२ गरी मतभार ३०७ रहेको छ।
स्थानीय तहमा २६ प्रमुख र २३ उपप्रमुख जितेको एमालेसित स्थानीय तहको मतभार ९३१ र १० प्रदेश सभा सांसदको मतभार ५३० गरी जम्मा मतभार १ हजार ४ सय ६१ रहेको छ।
स्वतन्त्र रुपमा चुनाव लडेर जितेका प्रमुख २ र उपप्रमुख १ जनाको मतभार ५७ र प्रदेश सभा सदस्य १ जनाको ५३ गरी उनीहरूको मतभार ११० छ।
१ जना प्रदेश सांसद मात्रै रहेको राप्रपाको मतभार ५३ छ।