मोरङ– स्थानीय तहको निर्वाचनका लागि मोरङको विराटनगरको उपमेयरकी एक उम्मेदवारविरुद्ध दाबीविरोधको उजुरी परेको छ । नेकपा एमालेका तर्फबाट विराटनगर महानगरपालिकाको उपमेयरमा उम्मेदवारी दिएकी एमालेकी शिल्पा कार्कीविरुद्ध दाबीविरोधको उजुरी परेको हो ।
कार्कीविरुद्ध मंगलबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा जनता समाजवादी पार्टीका उपमेयर उम्मेदवार अरमेन्द्र यादवले उजुरी दिएका हुन् । उनले लाभको पदमा रहँदारहँदै उपमेयरमा उम्मेदवारी दिएको भन्दै उम्मेदवारी खारेजीको माग गर्दै उजुरी दिएका हुन् ।
कार्की विराटनगरस्थित कोशी अस्पतालको सञ्चालक समितिको सदस्य कायम रहँदारहँदै महानगरको उपमेयरमा उम्मेदवारी दर्ता गरेको यादवले उजुरीमा उल्लेख गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
स्थानीय तहको निवार्चनका लागि आइतबार र सोमबार भएको मनोनयनका क्रममा विराटनगर महानगरपालिकामा प्रमुख र उपप्रमुखसहितका पदका लागि ७५४ उम्मेदवारी परेको छ ।