राम धामी
डडेल्धुरा– नेपाली काँग्रेसले डडेल्धुराका निबर्तमान सभापति एवम् सुदूरपश्चिम प्रदेशसभा सदस्य नेता कर्णबहादुर मल्ललाई साधारण सदस्यसमेत नरहने गरि निष्कासन गरेको छ । मल्लले पार्टीको विधान विपरीत कार्य गरेको भन्दै साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको काँग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमार्पत जनाइएको छ ।
‘नेपाली काँग्रेस डडेल्धुराका निवर्तमान सभापति एवं सुदूरपश्चिम प्रदेशसभा सदस्य कर्णबहादुर मल्लले नेपाली काँग्रेसको विधान, २०१७ (संशोधनसहित) विपरित गतिविधि गरेको हुनाले निजलाई नेपाली काँग्रेसको सदस्यसमेत नरहने गरी निर्देशानुसार पार्टीबाट हटाइएको छ ।’ मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ ।
विधान विपरीत मल्लले गरेका कामका विषयमा भने खुलाइएको छैन । ‘विधिवत रुपमा पार्टी सञ्चालन हुनुपर्ने भनेर न्यायका लागि संघर्ष गर्दैगर्दा राजनीतिक जीवन समाप्त पार्ने दुराषयले अनाहकमा कारवाही गरिएको सञ्चारमाध्यमबाट थाहा पाए,’ साँसद मल्लले प्रतिक्रिया दिदै भने, ‘सम्मानीय प्रधानमन्त्री तथा पार्टी सभापति देउवाले छैटौं पटकको अथक प्रयासपछि मलाई पार्टीबाट निकाल्न सफल हुनुभएको छ, उँहालाई बधाई दिदैं सहर्ष रुपमा कारवाही स्वीकार गर्दछु ।’
उनले देउवाले प्रजातान्त्रिक काँग्रेसका पालामा सदस्यताबाट निष्कासन गरेको स्मरण गर्दै काँग्रेस एकीकरणपछि छैटौं पटकको अथक प्रयासपछि कारवाही गर्न सफल भएको बताए । आफू जिल्ला सभापति भएका बेला नेपाली काँग्रेस डडेल्धुराको सातौं जिल्ला अधिवेशनमा सहभागी हुन नपाएको बताउँदै साँसद मल्लले भने, ‘प्रजातान्त्रिक दल भित्रको निरकुंशता खेप्न नसक्ने इमान्दार नेता कार्यकर्ताहरु कारवाहीको शिकार हुनुपर्ने अवस्था आउनु दुर्भाग्य हो ।’
प्रधानमन्त्री देउवाको गृहजिल्ला डडेल्धुराको पाँचौं र छौटौं जिल्ला अधिवेशनबाट देउवाले नचाहेरै जिल्ला सभापति बनेका मल्ल डडेल्धुराको प्रदेश सभा निर्वाचन क्षेत्र ‘ख’बाट निर्वाचित प्रदेश साँसद हुन । प्रधानमन्त्री देउवाले मल्ललाई पटक÷पटक पार्टीबाट निकाल्न खोजेको मल्लको गुनासो छ ।
१४औं राष्ट्रिय महाधिवेशनका क्रममा सभापति देउवाले केन्द्रबाटै झण्डै ९ सय क्रियासिल सदस्यता थपघट गरेर आफूलाई कमजोर बनाउन खोजेको मल्लको भनाई छ । त्यसपछि क्रियासिल सदस्यता विवाद टुंग्याउन माग गर्दै मल्ल नेतृत्वको जिल्ला कार्यसमितिले केन्द्रीय कार्यालयसम्म पुगेर अनसनसहित विरोधका कार्यक्रम गरेको थियो ।
मल्ल नेतृत्वको जिल्ला कार्यसमितिका अधिकांस पदाधिकारीहरु, प्रदेश सभा क्षेत्रीय समितिका पदाधिकारीहरु र स्थानीय तहका पदाधिकारीहरु राजधानीमा आन्दोलन गरिरहेका बेला एकपक्षीय रुपमा सातौं जिल्ला अधिवेशन सम्पन्न गरिएको थियो । आसन्न स्थानीय तहको निर्वाचनका क्रममा पनि मल्ल निकटस्थ नेता कार्यकर्ताहरुलाई टिकटबाट बञ्जित गरिएपछि मल्ल निकटस्थ नेता कार्यकर्ताहरुले नेपाली काँग्रेस (बिपी) गठन गरेर एमालेसँग चुनावी तालमेल गर्दै निर्वाचनमा होमिएका छन् । एमाले र नेपाली काँग्रेस (बिपी) ले तालमेल गर्दै जिल्लाका सातै स्थानीय तहमा उम्मेदवारी दर्ता गरेका छन् ।
अमरगढी नगरपालिका, नवदुर्गा गाउँपालिका र गन्यापधुरा गाउँपालिका नेपाली काँग्रेस (बिपी) ले र नेकपा (एमाले) ले परशुराम नगरपालिका, आलिताल गाउँपालिका, भागेश्वर गाउँपालिका र अजयमेरु गाउँपालिकाको प्रमुखमा उम्मेदवारी दिएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले अन्तिमसम्म पनि गृहजिल्लाको पार्टी मिलाउनमा चासो नदिएपछि आफूहरू नेपाली कांग्रेस (बिपी)बाट स्थानीय तहको निर्वाचनमा होमिएको मल्ल निकटस्थ मानिने निवर्तमान उपसभापति करुणाकर भट्टले बताए ।