काठमाडौं: सशस्त्र प्रहरी बल नेपालका एकजना पूर्व प्रमुखले काठमाडौंमा अनुकरणीय काम गर्दै आएका छन्।
सशस्त्रका पूर्व आइजीपीसमेत रहेका शैलेन्द्र कुमार श्रेष्ठले विगत लामो समयदेखि परोपकारी र सामाजिक कार्यस्वरुप हरेक मंगलबार निशुल्क भोजन प्रदान गर्दै आएका हुन्।
उनले कुनै हल्लाखल्ला र बिना प्रचार निरन्तर सो कर्म गर्दै आएको सुनाए। अहिलेको अवस्थामा अपवादबाहेक सामान्य भन्दा सामान्य सहयोग तथा दानको पनि प्रचार गर्दै आफूलाई परोपकारी सावित गर्न खोज्नेहरु पनि यत्रतत्र रहेको पाइन्छ। तर, पूर्व आइजीपी श्रेष्ठ भने प्रचार र हल्लाखल्लामा नभएर नित्यकर्ममा विश्वास गर्छन्।
श्रेष्ठले आफूले जागिर अवधिमै सो मंगलभोजनको सुरुवात गरेको जानकारी दिए। उनका अनुसार त्यसबेला श्रेष्ठका एकजना मित्र अमेरिकामा थिए।
उनका ती मित्र श्रवण नेपालीले अमेरिकामै भोका, नाङ्गा एवं गरिव दुखीलाई सेवास्वरुप निशुल्क भोजन गराउथे। त्यहीँ अवधारणाको आधारमा आफूहरूले पनि करिब एक दर्जन साथीहरु मिलेर वि.स २०६६ सालमा सो कार्यको सुभारम्भ गरेको श्रेष्ठले बताए।
त्यसबेला श्रेष्ठ सशस्त्रको एआइजी थिए। पछि आइजीपी भएर रिटार्यड भएर पनि उनले सो काम गरिरहे, र अहिले पनि गरिरहेका छन्।
हिजो (मंगलबार) मात्रै काठमाडौंमा श्रेष्ठको मंगलभोजनको कार्यक्रम थियो। जहिल्यै मंगलबार सो कार्यक्रम भैरहन्छ।
सो अभियानलाई श्रेष्ठले भने अङ्ग्रेजी नाम पनि दिएका छन्। अङ्ग्रेजीमा जसलाई करी उइथवाउट वरी काठमाडौं भनिएको छ। अहिले सो स्थानमा हरेक मंगलबार ३०० जनासम्मले भोजन ग्रहण गर्ने गरेका छन्।
श्रेष्ठसहितले तत्कालीन एआइजी हुँदादेखि आफैंले पकाएको खाना गरिव, असहाय, अपाङ्ग तथा सडक बालबालिकालाई खुवाउँदै आइरहेका छन्।
भोको पेटले अपराधलाई पनि प्रश्रय दिने भएकाले बाँच्न र खानाकै लागि कसैले पनि कुनै अपराध नगरुन् भन्ने ध्येयका साथ मंगलभोजनको रहेको श्रेष्ठको भनाई छ।
उनले भोको पेटका कारण पनि अपराध हुन सक्ने भएकाले भोकालाई माया र सम्मानसहित खाना खुवाउँदा पनि उसको र समाजको असल सोच, विचार, दृष्टिकोण र क्रियाकलाप विकसित हुने भएकाले सो अभियान थालेको श्रेष्ठको बुझाई छ।
यस्तै जागिरका क्रममा एकताका सुदूरपश्चिम बसेका श्रेष्ठले यहाँ मठ, मन्दिरमा पनि निकै योगदान गरेको बताइन्छ। उनी २०६८ मा सशस्त्रको आइजीपी रहेका थिए।