धनगढी : नेपाल टेलिकमको सुदूरपश्चिम प्रादेशिक निर्देशनालयबाट तामाजन्य ९स्क्रप कपर केबल० कवाडी सामानको लिलाम बिक्रीका क्रममा अनियमितता भएको आशंकामा स्थानीय प्रशासनले छानबिन समिति गठन गरेको छ ।
तीन दिनअघि कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रको निर्देशनमा प्रहरीले टेलिकमको दूरसंचार कार्यालय गेटाबाट लोड गरेर लैजाने क्रममा सामग्रीसहितका दुई वटा ट्रक नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा लिइएका लोड ट्रकको तौल गरेर जिम्मा राख्न प्रजिअ मिश्रले प्रहरीलाई निर्देशन दिएका थिए । टेलिकमको अभिलेखभन्दा प्रहरीले नियन्त्रणमा लिएका ट्रकको तौल झण्डै दोब्बर देखिएपछि अनियमितताको आंशका गरिएको हो ।
टेलिकमको गेटास्थित गोदामबाट १५ हजार ६ सय ७९ किलो (१५.६७९ टन) निकासी भएको अभिलेख छ । तर प्रहरीले नियन्त्रणमा लिइएका दुई वटै लोड ट्रकको तौल ५१ हजार ८३५ किलो (५१.८३५ टन) देखिएको छ । दुई वटा ट्रक मध्ये रा १ ख ३२०६ नम्बरको ट्रक ईलाका प्रहरी कार्यालय मालाखेतीले आइतबार गेटाबाट नियन्त्रणमा लिएको थियो । मालाखेती प्रहरीका एक अधिकृतका अनुसार उक्त लोड ट्रकको तौल २७ हजार ८३५ किलो (२७.८३५ टन) छ । ‘धर्मकाँटामा तौलेर मात्र कार्यालयभित्र ल्याएका हौं,’ ती अधिकृतले भने ‘भरिभराउ ट्रकको तौल २७ हजार ८३५ किलो भएको थियो ।’
गेटाबाटै समान लोड गरेर नेपालगञ्ज जाँदै गरेको ना ६ ख ४६० नम्बरको ट्रकलाई पनि आइतबारनै सशस्त्र प्रहरीको टोलीले कैलालीकै हसुलियाबाट नियन्त्रणमा लिएको छ । उक्त लोड ट्रकको तौल २४ हजार किलो (२४ टन) रहेको जिल्ला प्रहरीका एक अधिकृतले बताए ।