काठमाडौं : नेपाली काँग्रेसकी नेत्री एवं कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले विवाह लाइसेन्सको व्यवस्था गर्न आवश्यक रहेको बताएकी छन्।
बिहीवार ललितपुरमा भएको एक कार्यक्रममा बोल्दै नेत्री राणाले सानै उमेरमा हुने विवाह रोक्नका लागि विवाह लाइसेन्सको व्यवस्था गर्न आवश्यक रहेको बताएकी हुन्।
सभापति राणाले भनिन्, ‘‘विवाह गर्नको लागि पहिला नै लाइसेन्स लिनुपर्ने व्यवस्था गर्नसके कम उमेरमा विवाह गर्ने र विवाहको नाटक गरेर बेच्ने परिपाटी अन्त्य हुने छ। विवाह गर्नका लागि लाइसेन्स लिन नागरिकता र अन्य तथ्यहरु आवश्यक हुने भएकाले बालविवाह रोक्न यसले मद्दत गर्ने छ।’’
उहाँले यसका लागि वडा तहदेखि कानूनी रुपमा नीति बनाउन आवश्यक रहेको बताइन्। विवाह अगाडि सबै प्रक्रिया पु¥याएर विवाह लाइसेन्स लिएर मात्रै विवाह गर्ने प्रणाली विकास गर्न आवश्यक रहेको बताए।
अन्तर्राष्ट्रिय धेरै देशमा विवाह अगाडि विवाह लाइसेन्स लिनुपर्ने व्यवस्था रहेको पनि उनको भनाइ छ।
सभापति राणाले बालविवाह, महिला हिंसा, बलात्कारजस्ता विकृतिहरु रोक्नका लागि कानून नै एकमात्र विकल्प हुनसक्न बताइन्।