धनगढी : टेलिकमको कवाड टेन्डरमा घोटाला भएको पुष्टि हुनेगरी अत्तरियामा भएको ट्रकमा तामाजन्य कवाड तौल गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय कैलालीको नेतृत्वमा गरिएको तौलमा रा १ ख ३२१६ नम्बरको ट्रकमा रहेको तामाजन्य पदार्थको तौल १४९८२.८० रहेको छानबिन समितिका संयोजक शिवराज जोशीले जानकारी दिए ।
हसुलिया बाट नियन्त्रणमा लिइएको ट्रक सहितको तौल २४ टन रहेको स्रोतले जनाएको छ तर छानबिन समितीले तौल गर्न बाकी नै छ। नेपाल टेलिकमको दुुरसंचार कार्यालय गेटा गोदामबाट चार दिनअघि कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रको निर्देशनमा प्रहरीले टेलिकमको दुर संचार कार्यालय गेटाबाट सामग्री लोड गरेर जाने क्रममा दुई वटा लोड ट्रक नियन्त्रणमा लिएपछि अनियमितताको रहस्य सार्वजनिक भएको थियो ।
गेटाबाटै समाज लोड गरेर नेपालगञ्ज जादै गरेको ना ६ ख ४६० नम्बरको ट्रकलाई पनि आइतबार नै सशस्त्र प्रहरीको टोलीले कैलालीकै हसुलियाबाट नियन्त्रणमा लिएको हो । उक्त लोड ट्रकको तौल २४ हजार किलो (२४ टन) जिल्ला प्रहरी कार्यालयका एक अधिकृतले बताए । उक्त ट्रक जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । १२ चक्के खाली ट्रकको तौल अधिकतम १२ टन हुन्छ । त्यस हिसावले दुुई वटै खाली ट्रकको अधिकतम तौल २४ टन छ ।
टेलिकमको अभिलेखमा भने १५.६७९ टन मात्र उल्लेख छ । त्यस हिसावले १२.१५७ टन तामाजन्य सामान टेलिकमबाट अनियमितता भएर निकासी भएको देखिएको हो । यस कार्यमा प्रहरीका केही अधिकृतहरु, टेलिकमका कर्मचारी र ठेकेदार कम्पनीबीच मिलेमतो भएको आशंका रहेको सुरक्षा स्रोतका एक अधिकृतले बताए ।
निर्देशनालयका अनुसार प्रवल थापाको नाममा रहेको बिएएलएस कन्स्ट्रक्सन काठमाण्डौं नामक कम्पनीले टेलिकमको सुदूरपश्चिम प्रादेशिक निर्देशनालयसग ठेक्का सम्झौता गरेको थियो । टेलिकमको सम्पर्कमा कम्पनीको तर्फबाट श्याम कुमार जैशवालले कारोबार हेर्ने गरेको निर्देशनालयका उप प्रबन्धक गोबिन्द सिंह धामीले बताए ।