डडेल्धुरा : डडेल्धुरा सदरमुकाममा सयौँ नागरिक मिलेर सुरु गर्न थालेको भटमास उद्योग सञ्चालनको अन्तिम तयारीमा रहेको छ।
फार वेस्टर्न एग्रो ज्वाइन्ट लिमिटेडका नामले सञ्चालित भटमास उद्योगले अबको एक डेढ महिनामै उत्पादन सुरु गर्ने गरी तयारी थालेको हो।
तेलको उत्पादन त्यसको रिफाइन र सोयाबिनको उत्पादन तत्काललै सुरु हुने कम्पनीले जनाएको छ।
२०७६ मा कम्पनीका रूपमा दर्ता भएको यो उद्योग ७ सय ७७ जना शेयर सदस्य र १ हजारभन्दा बढी भटमास उत्पादक कृषकहरू मिलेर सञ्चालनमा ल्याइएको हो।
फार वेस्टर्न एग्रो ज्वाइन्ट लिमिटेडका रूपमा चार वर्षको तयारीपछि उद्योग सञ्चालन सुरु हुन थालेको लिमिटेडका पूर्वअध्यक्ष ताराप्रसाद जोशीले जानकारी दिए।
जोशीका अनुसार पूर्वाधारका काम सम्पन्न भइसकेका छन् भने अफिस, गोदाम, मसिन सञ्चालनका लागि ६ वटा बिल्डिङ तयार भइसकेका छन्।
गत वर्ष कात्तिकमा भटमास प्रशोधन उद्योगको परीक्षण उत्पादन सफल गरिएको थियो। शेयर सदस्यमध्ये कसैले आंशिक र कसैले पूर्ण रुपमा रकम चुक्ता गरिसकेको कम्पनीले जनाएको छ।
‘यो पूर्ण रूपमा सञ्चालन हुँदैन। कम्पनी बनाउनुको आशय धेरै छन्। यसका धेरै स्कोपहरू छन्। नेपाली अर्थतन्त्रमा कृषिको ठूलो योगदान छ। यसको व्यवसायी करण गर्नुपर्छ। यसको आधुनिकीकरण गर्नुपर्छ,’ उनले भने, ‘त्यसकारण यो पूर्णता कहिले हुँदैन। पूर्णतामा हामीले विश्वास गर्याैभने यसले विकास अगाडि बढ्दैन्। त्यसकारण हामीले पूर्ण भनेका छैनाैं। यसले अबको एक डेढ महिनामा व्यवसायीक काम सुरु गर्छ।’
ग्रामीण कृषकहरूलाइ प्रोत्साहित गरी उद्योगमा संलग्न गराउने र आफ्नै कच्चापदार्थबाट तेल, पशु आहार र साबुन जस्ता अति आवश्यक उत्पादन सुरु हुने लिमिटेडका अध्यक्ष धर्मसिंह ऐरले जानकारी दिए।
जसका लागि उद्योगले भटमास खरिद गरेर समेत राखेको छ। नेपालमा सबैभन्दा बढी दलहन बाली भटमास खेती गरिने सुदूरपश्चिमका कृषकलाई व्यावसायिक रुपमा भटमास खेती गराउने र संकलन गरि प्रशोधन तथा भटमास जन्य चिजवस्तु उत्पादन गरि रोजगारी प्रदान गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ।