धनगढी : हालै सुदूरपश्चिम प्रहरी प्रमुखको रुपमा सरुवा भएका डीआइजी रविन्द्र केसीको सम्बन्धको दोबाटो सार्वजनिक भएपछि चर्चा चुलिएको छ । काभ्रेपलान्चोकमा जन्मिएका रविन्द्र केसी नेपाल प्रहरीमा प्रहरी नायब महानिरीक्षकको रूपमा कार्यरत छन् । सेवाको क्रममा उनी राष्ट्रपतिबाट जनसेवा श्री पदकले विभूषित भएका छन् । राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका उनले साहित्य, समाजशास्त्र, अन्तर्राष्ट्रिय मामिलामा रुचि राख्छन् । राष्ट्रिय पत्रपत्रिका तथा अनलाइन पोर्टलहरूमा फुटकर लेख रचनाहरू प्रकाशित गराइरहने केसीको पहिलो कथासंग्रह सम्बन्धको दोबाटो प्रकाशित भएको छ ।
कथासंग्रह ‘सम्बन्धको दोबाटो’ बारेमा डीआइजी केसीले कसरी तयार गरेका छन् र पाठकले के पाउनेछन् ?
‘सम्बन्धको दोबाटो’ मेरो पहिलो कथा कृति हो । यसमा समावेश भएका सबै सिर्जनाहरू यथार्थपरक छन् । मौलिक शैलीमा लेखिएका छन् । सबै कथा मानवीय सम्बन्धकै सेरोफेरोमा घुमेका छन् । पुस्तकमा समयसँगै परिवर्तन हुँदै गएको मानवीय दृष्टिकोण र चेतनालाई पनि स्पर्श गर्ने प्रयास गरेको छु ।
हिजोआज गम्भीर रूपले आत्मकेन्द्रित सोच मौलाउन थालेको छ । मानिसका चाहना, आवश्यकता र प्राथमिकताहरू फेरिँदै गएका छन् । परिवर्तित जीवनशैलीले सम्बन्धमा अविश्चास, शङ्का र भ्रम बढाउन थालेको छ । दुःख, पीडा र उल्झनहरू दिनदिनै बढ्दै जान थालेका छन् । यो पुस्तकमा सम्बन्धका उकाली–ओराली, भँगाला र दोबाटाहरू प्रशस्त छन् । मैले समकालीन समाजको यथार्थ चित्रण गर्ने भरमग्दुर प्रयास गरेको छु ।
थाहा पाए अनुसार हिजोआज सम्बन्ध विच्छेदका मुद्दाहरू ज्यामितीय ढङ्गले वृद्धि हुँदै गएका छन् । बहुविवाह र घरेलु हिंसाका घटनाहरू त्यसै गरी बढेका छन् । यी तथ्याङ्कहरूले पनि मानवीय सम्बन्धहरू ज्यादै जटिल हुँदै गएको कुरा देखाउँछ । जीवनभरिका लागि भनेर गाँसिएका सम्बन्धभित्रै डरलाग्दो गरी बिरानोपन मौलाउन थालेको छ । मानिस आफ्नाबाट बिस्तारै टाढिँदै जान थालेका छन् । सम्बन्धप्रतिको अनास्था, बेमेल र विरक्तिका कारण जीवन सकसपूर्ण बन्दै गएको छ । सम्बन्धकै दरारमा कैयौँ निर्दोष बालापन पनि च्यापिएका छन् । डिपेन्डेन्ट भिसा र ग्रीन कार्डका चम्किला भ्रमले कैयौँ चेलीहरूको जीवनमा आगो लगाएको छ । स्वार्थ, घात, विभेद, शोषण, उत्पीडनले आत्मीयताको मर्म र धर्मलाई धराशायी बनाएको छ । यो पुस्तकमार्फत मैले आजको यस्तै सामाजिक यथार्थलाई स्पर्श गर्ने प्रयास गरेको छु । यसमा फरक फरक भाव, अनुभूति र संवेदनाले भरिएका २१ वटा कथाहरू छन् र अधिकांश कथाहरू मेरो यही मान्यताको जगमा उभिएका छन् ।
जीवनको प्रमुख आधार निस्सन्देह सम्बन्ध नै हो । तर चिन्ताको कुरा के छ भने ती दिनदिनै जटिल हुँदै जान थालेका छन् । हुन त हाम्रा आफ्नै विशिष्ट नैतिक, सामाजिक एवं पारिवारिक मूल्य र मान्यताहरू छन् । तर अब त्यसले मात्रै पनि मानवीय आचरण, व्यवहार, प्रवृत्ति र भावनालाई पूर्ण व्यवस्थित गर्न सक्ने अवस्था छैन । राजनीतिक, धार्मिक एवं सांस्कृतिक तथा जातीय र लैङ्गिक विभेदका अवशेषहरूले सबन्धलाई जरैदेखि हल्लाएका छन्, उखेलेका छन् । दृश्यमा जस्तो देखिए पनि सारमा सम्बन्धभित्रको द्वन्द्वको मूल कारण यही हो । यो यथार्थलाई स्विकार्नु पर्छ । आर्थिक, सामाजिक र राजनीतिक अवसरहरूलाई अझै समतामूलक ढङ्गले वितरण गर्नुपर्छ । समयसापेक्ष रूपमा सामाजिक मूल्य र मान्यता विकास हुनु पर्दछ । सहअस्तित्व, पारस्परिक सम्मान, माया, दया, करुणा र प्रेममा जोड दिनुपर्छ । यो सजिलो कुरा त छैन तर पनि अपरिहार्य छ । यति गर्न सकियो भने अरू विकृतिहरूलाई विधि र नीतिले व्यवस्थित गर्न सकिन्छ । त्यसपछि मात्र मानवीय सम्बन्ध शाश्वत र जीवन्त भएर बाँच्न सक्छ ।
म नेपाल प्रहरी संगठनमा कार्यरत छु । यो संगठन हाम्रो देशको हरेक भूगोल र समुदायसम्म फैलिएको छ । नागरिकहरूका जन्मदेखि मृत्युसम्मका अनेक सुखदुःखमा जोडिएको छ । नागरिकका भावनालाई यसले जति नजिकबाट महसुस गर्न पाउँछ, त्यस्ता अवसरहरू अरू सेवामा बिरलै उपलब्ध हुने गर्दछन् । मलाई के लाग्छ भने प्रहरी हाम्रै समाजको प्रतिबिम्ब हो । यसमा पनि समाजका सबै खाले चरित्रहरू छन् । यसभित्र पनि फरक फरक सोच, मान्यता र चेतना छन् । फरक फरक मन, मुटु र भावनाहरू छन् । अत्यधिक कार्यव्यस्तताका बाबजुद नेपाली कला र साहित्यको श्रीवृद्धिमा प्रहरीहरूको पनि योगदान छ । समयक्रममा कैयौँ प्रहरी कर्मचारीहरू लेखक, कथाकार, कवि, गीतकार, चलचित्र कलाकारका रूपमा चम्किएका छन् । त्यसैले प्रहरीमा संवेदनशीलता हुँदैन भन्ने भाष्य त्यति यथार्थपरक छैन जस्तो लाग्छ मलाई ।
जहाँसम्म लेखनमा मेरो रुचि कसरी पलायो भन्ने प्रश्न छ, समयक्रममा मलाई लाग्यो कि जनताका दैन्दिनका सुख, दुःख, व्यथा, पीडा हाम्रो साहित्यमा अझै धेरै समेटिनु पर्छ । जीवन, समाज र माटोका पीडा बोल्ने अझै धेरै वास्तविक कथाहरू लखिनु पर्छ । त्यही अनुभूतिले मलाई लेख्न अभिप्रेरित गर्यो । अलिकति आदरणीय अग्रजहरूबाट प्रेरित भएँ । अलिकति आफ्नै हुटहुटीले लेख्न थालेँ ।
जहाँ जीवन हुन्छ, त्यहाँ अनुभूति हुन्छ । जहाँ अनुभूति हुन्छ, त्यहाँ कथा हुन्छ । प्रहरी संगठनमा यही समाजका नागरिकहरू छन् । अन्य क्षेत्रका नागरिकका जस्तै प्रहरीका पनि अनेक कथाव्यथा छन् । मलाई लाग्छ, नागरिकका कथा नै प्रहरीका कथा हुन् र प्रहरीका कथा नागरिकका पनि कथा हुन् । साहित्यमा प्रहरीलाई मात्र फरक आँखाले हेरिनुपर्छ भन्ने मलाई लाग्दैन । तर सत्य कुरा के हो भने प्रहरी संगठनजस्तो सुरक्षा निकायका आफ्नै खाले संवेदनशीलताहरू हुन्छन् । अलि विशिष्ट प्रकारका कानुन, आचारसंहिता र निर्देशिकाहरू हुने गर्छन् । यसको पालना र सम्मान गर्दै समयक्रममा प्रहरी संगठनबाट धेरै प्रतिभाशाली साहित्यकारहरू जन्मिएका छन्, धेरै साधक साहित्यसाधना गरिरहेका छन् । यस कथासंग्रहमा पनि ‘युद्धका घाउहरू’ शीर्षकको कथा सुरक्षाकर्मीसँगै सम्बन्धित छ । अन्य केही कथाका पात्रहरू पनि प्रहरी नै छन् ।
मेरा कथाहरूले समकालीन समाजको अवस्था र मानवीय संवेदनालाई कसरी समेटेको छ भन्ने विषयमा मैले जानेबुझे सम्मका विचार माथिकै प्रकरणहरूमा विस्तृत रूपमा प्रस्तुत गरिसकेको छु । यिनले समाजलाई नयाँ दिशा दिने छन् भन्ने मेरो दाबी पटक्कै होइन । मैले केवल आफूले देखे, जाने र अनुभव गरेका कुराहरू पाठकसमक्ष अर्पण गरेको मात्र हुँ । ती कुराहरू सान्दर्भिक र उपयोगी छन्, छैनन् ? त्यसमा सहमति–विमति राख्ने वा त्यसलाई पूरै खारेज गर्ने सम्पूर्ण अधिकार आदरणीय पाठकवर्गमा नै छ । बरु उहाँहरूले मलाई कसरी दिशा निर्देश गर्नु हुनेछ, के कस्तो प्रतिक्रिया र सुझाव पाउने छु, त्यो मेरा लागि ज्यादै महत्त्वपूर्ण हुनेछ । त्यही कुराले मेरो सिर्जनामा निखार आउने छ र त्यसैले मलाई साहित्यमा दिशा निर्देश गर्ने छ भन्ने विश्वास लिएको छु ।