काठमाडौं : राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुतराज थापाले एसपीहरुको मनलाग्दी सरुवा गरिरहेको आरोप लागेछ।
पटक पटक सच्याइएको सूचीलाई माघे संक्रान्तिको अघिल्लो दिन एसपीहरुको सरुवा गर्ने तयारीलाई अन्तिम अवस्थामा पुर्याएको छ।
तर, शक्तिकेन्द्र र राजनीतिक आस्थाको आडमा सरुवा सूचीलाई लाजमर्दो बनाउन लागिएको आरोप मुख्य अनुसन्धान निर्देशक थापामाथि लागेको छ।
एसपीहरुको सरुवामा पूर्व उपराष्ट्रपति र सभाका छोरा दिपेश पुन र महराहरुको विशेष हात रहेको बताइन्छ।
स्रोत भन्छ,‘पुन र एक जना घोरसाइने समेतको सरसल्लाहमा माओवादी निकट भनिएकालाई रोजिएका विशेष जिल्लामा खटाउन लागिएको छ। अरुलाई भने छानिछानी अन्यत्र जिल्लामा पठाइँदैछ।’
भोलि सबैजसो जिल्लामा अवधि पुगेकाहरुको सरुवा हुने सम्भावना बढेको छ। तर,एकतर्फी रुपमा माओवादी र आफू निकटलाई विशेष ठाउँमा राख्न खोजिएपछि अरुले असन्तुष्टि जनाइसकेका छन्।
प्रमुख थापासँग नाता लगाउँदै निकट भएकादेखि राजनीतिक शक्ति केन्द्रको आडमा रहेकालाई थप काखी च्याप्न खोजिएको उनीहरुको भनाइ छ।
सरुवाको मेसोमा माइतीघर मण्डला नजिक बस्ने न्यौपाने थरकालाई पनि नचलाउन आदेश दिइएको छ। उनले प्रमुख थापालाई मामा साइनो लगाउँदै आएका छन्।
त्यस्तै भिनाजु साइनो लगाउने काभ्रेपलाञ्चोकको प्रजापति थरका डिएसपीको पनि काज थमौती प्रक्रिया अघि बढाइएको स्रोतको दाबी छ।
यता, केही समयअघि राष्ट्रपति कार्यालय पुर्याइएका काठमाडौं भ्याली अपरेसनकी महिला इन्सपेक्टर विनिता दाहाललाई पुनः अपरेसनकै जिम्मा दिएर अहिले अख्तियार पुर्याइएको छ।
तत्कालीन प्रमुख गणेश अधिकारीले काम सन्तोषजनक नभएको जनाउँदै उनलाई राष्ट्रपति कार्यालयमा खटाएका थिए। तर, हुतराज नियुक्त भएलगत्तै पुनः अपरेसनमा ल्याइएर उता लगिएको हो।
त्यसैगरी राजधानी बाहिर सरुवा हुने र घर पायक केही महिला कर्मचारीहरुको रहस्यमय तरिकाले थमौती हुँदै आएकोमा विभागभित्रै अनेक कुरा काट्न थालिएको छ।
विभागकी कर्मचारी विनिता दाहालको सिफारिसमा त्यस्ता महिला कर्मचारीको थमौती हुने गरेको रहस्य खुलेपछि कुरा काटिएको सहजै अनुमान लगाउन सकिन्छ।
दाहालका श्रीमान सशस्त्र प्रहरी बलका इन्सपेक्टर थिए। जुम्लामा ब्याडमिन्टन खेल्ने क्रममा उनको निधन भएको थियो। ‘अहिले विनिताको सिफारिसपछि चिफ सा’बले कलम घुमाइहाल्नुहुन्छ । यसैगरी मन परेकाको थमौती हुने गरेको छ,’ पछिल्लो अवस्थाबारे बताउँदै विभागको उच्चस्रोतले गुनासो पोखेको छ ।