डडेल्धुराः डोटीको जोरायल गाउँपालिका–१ स्थित तिलाचौडका कृषक खडक मल्लले सात वर्ष अगाडि ६० ओटा कागतीका बोटा लगाए।
त्यति बेलमा नेपालगन्जस्थित सपना स्मृति एग्रो नर्सरीले दुई वर्षमा फल्ने भन्दै कागतीका बोटाहरू बिक्रि गरिरहेको थियो।
दुई वर्षमै फल्ने भएपछि कागतीबाट मनग्य आमदानी गर्न सकिने भन्दै मल्लले प्रति बोट तीन सय ५० का दरले करिब ६० ओटा बिरुवा खरिद गरी रोपे।
उक्त एग्रोमा डडेल्धुराको आलिताल गाउँपालिका–१ कटौजथला बस्ने निर्मला कडाल कार्यरत थिइन्। उनले पनि दुई वर्षमै फल्ने बताएपछि कागती रोपेका मल्लका कागतीका बोट सात वर्षपछि फले।
त्यहीँ पनि ज्यामिर भएर। कागती भनेर लगाएको बोट ज्यामिर जातको फल फलेपछि मल्लले बल्ल आफू ठगिएको थाह पाए।
‘दुई वर्षमै फल्ने भनेर लगाएको थिए। सात वर्षमा फल्यो। त्यहीँ पनि कागती भएर,’ उनले भने, यहाँ त मैले मात्रै लगाएको छु। अन्यत्र पनि ज्यामिर नै फलेको भन्ने गुनासो आएको छ। राम्रो आमदानी होला भनेर लगाएको त, उल्टै ठगिन पुगे।’
कागती भनेर रोपेको बिरुवामा ज्यामिर फलेपछि सबै बोट काटेर फालेको मल्ल बताउँछन्। उनी भन्छन्, ‘मेरो श्रमको प्रतिफल १०÷११ वर्ष पछाडि धकेलिएको छ। बालबच्चा हुर्काएझै हुर्काएको थिए।’
किसानलाई ठग्ने नर्सरीलाई सरकारले कारबाहीको दायरामा ल्याउनुपर्ने उनको माग छ। नेपालगन्ज स्थित उक्त सपना स्मृति एग्रो नर्सरीको अफिसियल नम्बर भनेर दिएको फोन नम्बर ९८४०६९२८८३ मा फोन गर्दा कल निषेधित गरिएको छ।