डडेल्धुरा : भारतसँग सीमा जोडिएको भागेश्वर गाउँपालिकाले सदरमुकाम तोक्न सकेको छैन। गाउँपालिकाको मुकाम कहाँ राख्ने भन्ने विषयमा टुङ्गो लगाउन नसक्दा जनप्रतिनिधिको आलोचना बढ्दै गएको छ।
मुकामको नै टुङ्गो लगाउन नसक्ने पालिकाका जनप्रतिनिधिले अरू विकासका काम कसरी गर्न सक्लान् र भनेर स्थानीयले चर्को आलोचना गरेका छन्।
गाउँको सिंहदरबार कहाँ स्थापना गरेर सेवा दिने भन्ने सङ्घीयता लागु भएको सात वर्षसम्म पनि टुङ्गो नलाग्दा भागेश्वर गाउँपालिकावासीमा अन्योल रहेको स्थानीयको गुनासो छ।
तत्कालीन तीन वटा गाउँ विकास समिति बगरकोट, भागेश्वर र रुपाललाई गाभेर भागेश्वर गाउँपालिका स्थापना गरिएको थियो। २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनपछि भागेश्वर गाउँपालिका–४ मा परेको बगरकोटलाई नै अस्थायी मुकाम बनाई हालसम्म कार्यसम्पादन गरिँदै आएको छ।
सदरमुकामबारे छलफल गर्न वडा नम्बर ४ को कार्यालय बगरकोटमा गरिएको छलफलमा मुकाम सार्ने विषयमा भएका पटक पटकका छलफल बैठकमा स्थानीयले ढुङ्गामुढासमेत प्रहार भएको घटना स्थानीय मानबहादुर ठकुराठीले सम्झिए।
विसं २०७५ पुस १३ गते तत्कालीन गाउँ सभाले गाउँपालिकाको मुकाम तीन वटै गाउँपालिकाको सिमाना जोडिएको क्षेत्र टप्वा वा गुवाडीमा तोक्ने निर्णय भएको जानकारी स्थानीय दीपक महताले बताए।
भागेश्वरका सबै क्षेत्रका स्थानीयको पायक पर्ने क्षेत्र सो क्षेत्र नै भएकाले गाउँ सभाले गरेको निर्णय कार्यान्वयन गर्न उनले हालका जनप्रतिनिधिलाई आग्रह गरे। सोही विषयमा भएको एक छलफल कार्यव्रmममा वडा नम्बर १, २, ३ र ५ का स्थानीयले गाउँ सभाले निर्णय गरेको टप्वा र गुवाडी क्षेत्रमा मुकाम तोक्ने भनेर गरेको निर्णय लागु गर्नुपर्ने मत राखेका छन्।
वडा नम्बर ४ का स्थानीयले भने सो क्षेत्रमा जङ्गल भएकाले सेवासुविधा प्रवाह गर्न नसकिने भन्दै मुकाम तोक्न सकिने मापदण्डको पालना गर्नुपर्ने सुझाव राखे।
सुरक्षा, खानेपानीलगायतका अन्य सेवासुविधाको ख्याल गरेर गाउँपालिकाको मुकाम तोकिनुपर्ने वडा नम्बर ४ वासीको भनाइ थियो। स्थानीय रामबहादुर ठकुराठीले चुनावका वाचा र गाउँ सभाले गरेको निर्णय लागु गर्नुपर्ने बताए।
हाल गाउँपालिकामा नेपाली कांग्रेसको स्पष्ट बहुमत रहेको उल्लेख गर्दे उनले राय सुझाव, छलफल गर्नुभन्दा पनि चाँडो मुकामको टुङ्गो लगाउनुपर्ने बताए।