धनगढीः कैलालीको गोदावरी नगरपालिकाको भवन पुनः उद्घाटन हुने भएको छ । २०७८ चैत्र १४ गते नेकपा एमालेबाट जितेका निर्वतमान नगरप्रमुख हरिसिंह साउँदले उद्घाटन गरेको प्रशासकीय भवनको पुनः उद्घाटन हुन लागेको हो ।
एसियाली विकास बैंक (एडिबी)को सहुलियतपूर्ण ऋण लगानीमा निर्माण सम्पन्न भएको भवन गोदावरी नगरपालिकालाई हस्तान्तरण गरिएपछि कांग्रेसबाट जितेका हालका नगरप्रमुख विरेन्द्र भट्टले भवनको पुनः उद्घाटन गर्ने भएका हुन ।
क्षेत्रीय सहरी विकास आयोजना कार्यालय धनगढीले १३ करोड ४६ लाख बढीको गोदावरी नगरपालिकाको प्रशासकीय भवन नगरपालिकालाई हस्तान्तरण गरेको छ । भवन क्षेत्रीय सहरी विकास कार्यालय धनगढीका इन्जिनियर शौरभ कलौनीले नगरप्रमुख भट्टलाई हस्तान्तरण गरेका छन्।
भवन निर्माणका लागि शर्मा एण्ड कम्पनीसँग सम्झौता भएको थियो। २०७६ मंसिर २० गतेदेखि सुरु भएको भवन निर्माणमा १३ करोड ४६ लाख एक हजार ४३ रुपैयाँ खर्च भएको आयोजना कार्यालयले जनाएको छ। सो भवन निर्माणको काम २०८० असोज २५ गते निर्माण सम्पन्न भएको थियो।
भवनको माघ ४ गते फेरी उद्घाटन गरिने नगरपालिकाले जनाएको छ।