धनगढी : धनगढीमा मंगलबार यस हिउदकै सबैभन्दा बढी जाडो मापन भएको छ । जल तथा मौसम विज्ञान विभाग अत्तरियाले मंगलबार धनगढीको न्युनतम तापक्रम ५ दसमलव ६ डिग्री मापन भएको जनाएको छ ।
५ दसमलव ६ डिग्री तापक्रम यस हिउदै सबैभन्दा कम मापन हो । मंगलबारको अधिकतम तापक्रम पनि अहिलेसम्मकै सबैभन्दा कम ११ दसमलव ७ डिग्री मापन भएको छ । ‘आजको दिन यस हिउदको सबैभन्दा बढी चिसो मापन भएको दिन हो’ जल तथा मौसम विज्ञान विभाग अत्तरियाका मौसम विज्ञान सहायक सिंगल चौधरीले भने । ‘जाडोको सिजन अझै बाँकी छ । यसभन्दा पनि कम मापन हुनसक्छ ।’
उनले यसअघि ११ जनवरी अथवा पुसको २६ गते न्युनतम तापक्रम ८ दसमलव ५ डिग्री र अधिकतम तापक्रम १२ दसमलव १ डिग्री मापन भएको बताए । ‘त्यस दिन पनि अत्यधिक जाडो महसुुस भएको थियो । तर मंगलबार त्यसको पनि रेकर्ड ब्रेक भयो’ चौधरीले भने ।
न्युनतम तापक्रम कम मापन हुनु र अधिकतम पनि नबढनु भनेको बढी चिसो महसुस हुनुु हो । जाडो बढेपछि दैनिक कामकाजमा असहजता भएको छ । मजदुरी गरिखाने वर्ग सबैभन्दा बढी चिसोको चपेटामा परेको छ भने भूमीहीन र सुकुम्बासी शिविरहरुमा झन समस्या भएको छ ।
तराईका जिल्लामा पछिल्लो १० दिन देखि दिनभरी हुस्सुलाग्ने गरेको छ । १० दिनदेखि घाम नपरेपछि बालवालिका र जेष्ठ नागरिकहरु विरामी पर्न थालेका छन । सेती प्रादेशीक अस्पताल र अन्य नीजि अस्पतालहरुमा बालवालिका र जेष्ठ नागरिक विरामीको संख्या बढन थालेको छ । चिसोका कारण रुघाखोकी, निमोनिया जस्ता सिजनल फ्लुका विरामीहरु बढने गरेको गेटा अस्पतालका फिजिसियन डाक्टर चेतराज भट्टले बताए ।
‘यस्तो बेला राती घरभीत्र कोईला बाल्नु हुदैन । त्यसले कार्बन मोनोस्साईड भएर ज्यानै जाने हुनसक्छ । जेष्ठ नागरिक र बालवालिकालाई घरबाहिर पठाउनु हुन्न । झोलिलो र न्यानो कुरा खानुपर्छ’ डाक्टर भट्ट भने ।