डडेल्धुराः कोभिडको समयमा भर्ना भएका केही कर्मचारीलाई डडेल्धुरा अस्पताल डडेल्धुराले गत असोजमा अस्पतालबाट निष्कासन गर्यो।
तरपनि ती कर्मचारीहरू अस्पतालमा गएर काम गरिरहेका थिए। अस्पताल प्रशासनले भने करार सम्झौता सकिएको भन्दै उनीहरूलाई हाजिर लगाउन दिएको थिएन।
अस्पताल प्रशासनको यो रबैयाबाट थुप्रै व्यक्ति असन्तुष्ट थिए। अस्पताल प्रशासनमाथि राजनीतिक आँडमा आफू निकटलाई राख्ने र अरूलाई हटाउन खोजेको आरोप थियो।
तर, अस्पतालका निमित्त मेसु डा. सन्तोष गुप्ताले भने उक्त समयमा महेन्द्रनगर पोष्टसँग अस्पतालमा कर्मचारी आवश्यक रहेको बताएका थिए। उनले कोभिडको समयमा प्रक्रिया नमिलेकोले कर्मचारी हटाएको बताए।
उनले भनेका थिए, ‘अब प्रक्रिया मिलाएर, आवश्यक दरबन्दी अनुसार भर्ना गर्ने हो।’
सोहीअनुसार २३ कार्तिक २०८० मा डडेल्धुरा अस्पताल, डडेल्धुराले विभिन्न पदमा दरखास्त आह्वान गर्यो।
जसमध्ये स्टाफ नर्स, अनमी, कम्प्युटर अपरेटर, एक्स–रे सहायक र का. (डेन्टल विभाग) पदको र हेल्थ असिष्टेन्ट, फार्मेसी सहायक, अहेब, ल्याब असिष्टेन्ट, काउण्टर सहायक, कार्यालय सहयोगी र स्विपर पदको अन्तिम नतिजा अस्पतालले प्रकासन गरेको छ।
अस्पतालले प्रकाशन गरेको नतिजामा राजनीतिक दलका कार्यकर्ता, अस्पतालका अध्यक्षलगायतका आसेपासे भर्ना गरिएको भन्दै अस्पतालको व्यापक आलोचना भइरहेको छ।
सरस्वती र करुणाकर ‘तारो’ बने !
अस्पतालमा कर्मचारी भर्नामा आसेपासे राखेको र चलखेल गरेको भन्दै सुदूरपश्चिम प्रदेश सभा सदस्य सरस्वती खड्का र अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझाप्रति स्थानीय रुष्ट बनेका छन्।
विशेषगरि सामाजिक सञ्जाल प्रयोगकर्ताले खड्का र ओझाप्रति रोष प्रकट गरिरहेका छन्। सामाजिक सञ्जालमा नवराज पाण्डेले लेखेका छन्, ‘अध्यक्ष करुणाकर, माननीय सरस्वतीको बिर्ता हो र डडेल्धुरा अस्पताल ? तीनिहरूले निकालेका सफल उम्मेदवार र बैकल्पिक उम्मेदवारको कपि रि गराउँ पहिले बाँकी…।’
अमरगढी कार्यपालिका सदस्य समेत रहेका प्रकाश जैरुले लेखेका छन्, ‘पावरले भया वा नाताले, पुराना भएर भया या दलको भागबन्डाले, लेखेर भए या लेख्न छोडेर भए, पास त भएनि, हुनेलाई बधाई, बनाउनेलाई धन्यवाद।’ उनी कांग्रसका निकट नेता हुन्।
त्यस्तै उनले अर्को स्टाट्समा लेखेका छन्, ‘म र मेरो भएन भनेर दुःख नमानौं। फेरि खुल्दैछ अस्पतालमा धेरै संख्यामा कर्मचारीको जागिर भन्ने सुनिएको छ।’
गणेश पाण्डेयले पनि सामाजिक सञ्जालमा लेखेका छन्, ‘अस्पताल राम्रो बनाउने त भन्ने कुरा मात्रै हो, मिलेर खाउ पार्टीका अध्यक्ष तथा व्यवस्थापनको अध्यक्षहरू।’
टंक अवस्थीले लेखेका छन्, ‘डडेल्धुरा अस्पतालका माडेहरुले हाम्रा पुराना कार्यकर्ताहरु यथावत राख्छौ भनिदिएको भए के बिग्रिन्थ्यो? लुट्न र दुख दिन पलेकाहरु! गरिबका छोराछोरीहरु किन राजस्व तिर्थे, २–३ चोटी डडेल्धुरा आउँदा जाँदा, बस्दा खाँदा अनावश्यक खर्च गराउने, तमाशा देखाउनेहरु अलि होस पुर्याउ? के प्रकिया पुराउन मात्रै नाटक गरिदै थियोरु स्वास्थ्य चौकी जतिको पनि सुविधा छैन, भर्ती केन्द्र चलाउ, धन्दा गर, यै पाराले विश्वविद्यालय नै चल्छ, मेडिकल कलेज मात्र होइन। धन्यवाद!’
यस्तै विशाल बस्नेतले २०८४ मा पावर कति छ भनेर माननीय सरस्वती खड्का काँग्रेसलाई देखाइदिने भनेर चुनौती दिएका छन्।
मिना ठगुन्नाले कार्यालय सहयोगी र स्विपरमा कुन–कुन दुःखी पीडित पिछडिएका र एकल महिला छन्, खुलाइदिनुस् ?भनि प्रश्न गरेकी छन्। एकल महिला भएको बताउँदै उनले ४ सय ऋण खोजेर फारम भरेको बताएकी छन्।
‘म जस्ता गरिब (एकल महिला) को समय, कागजात र ४ सय किन नाश गरेकोरु धेरै भन्नु केही छैन। मेरा समस्या र दुःखका पोका छरपष्ट पार्नु छैन् अब। तपाईंको कामले मेरो छोराले पढ्न पायो। खान लाउन पाइहाल्यो। आनन्द भयो। न डडेल्धुरा अस्पतालका वरिष्ठ मान्छेहरूले दिएको न नेताले। त्यसैले मेरो ४ सय र कागजपत्र फिर्ता गर्दिनु। त्यो ४ सयले मेरो छोराले १० दिन खाना खान पाउँछ,’ उनले लेखेकी छन्।
के भन्छन् अध्यक्ष ओझा ?
सुरुबाट नै काम गरिराखेका कर्मचारीलाई प्रक्रिया मिलाएर राख्ने उदेश्यले दरखास्त आह्वान गरिएको अस्पताल विकास समिति अध्यक्ष ओझाले जानकारी दिए।
‘यसमा राखिएका सबैजना हामीहरूले विज्ञापनका जति पनि खुड्किला छन् सबै पार गरेका र नियमित अस्पतालमा काम गरिरहेका साथीहरूलाई राखिएको हो,’ उनले भने, ‘पावरको भरमा हामीले राखेको जस्तो त लाग्दैन। सन्तुष्टि, असन्तुष्टि त आउँछ।’
उनले अधिकांश पहिलेदेखि नै काम गरिरहेका कर्मचारी राखिएको जिकिर गरे। केही नयाँ पदमा मात्रै नयाँ कर्मचारी भर्ना गरिएको उनी बताउँछन्।
भित्रैका कर्मचारी राख्ने भए किन दरखास्त आह्वान गरेको त ? भन्ने प्रश्नमा उनले भने, ‘आन्तरिक भनेर खोल्न नमिल्ने रहेछ। कानुनी प्रक्रियालाई अपनाउँदा खेरी अब बाहिरका मान्छेले पनि दिए। हामीले बाहिरी मान्छेले एप्लाई गर्दाखेरी पनि अनौपचारिक रूपमा विशेष गरेर भित्रैका मान्छेलाई कानुनी प्रक्रिया मिलाएर राख्न खोलिएको हो यसमा तपाईं दिन नपाउने भन्ने कुरा त होइन भनेर भनेका हौं।’
र, यो पनि :
जुनियर हाकिम विवादमा, सिनियरको सरुवाको खेल !