बैतडी– बैतडीमा मेयरका उम्मेदवारसहित १२ जनाविरुद्ध उजुरी परेको छ । सबैभन्दा बढी पाटन नगरपालिकामा सात जना उम्मेदवारविरुद्ध उजुरी परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
एमालेबाट मेयरका उम्मेदवार नारायणसिंह भण्डारी विरुद्ध दुईजनाले उजुरी दिएको निर्वाचन अधिकृत ईश्वरीदत्त जोशीले जानकारी दिए । भण्डारी पाटन नगरपालिकाकै लेखापरीक्षकको रुपमा कार्यरत रहेको भन्दै उजुरी परेको छ ।
यस्तै वडा सदस्यका उम्मेदवारहरु हिरासिंह कठायत, प्रेमसिंह भाट, नवराज पाण्डेय, मानबहादुर बिष्ट र नवराज भट्टका विरुद्ध उजुरी परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
जिल्लाको शिवनाथ गाउँपालिकामा पनि एमालेका तर्फबाट उपाध्यक्षका उम्मेदवार शकुन्तला साउँद, नेकपा माओवादी केन्द्रका तर्फबाट उपाध्यक्षका उम्मेदवार नरेन्द्र साउँद र वडा अध्यक्षका उम्मेदवार भरतराम पार्कीविरुद्ध उजुरी परेको छ ।
यसैगरी पञ्चेश्वर गाउँपालिकामा वडा नं ६ का वडा अध्यक्षका उम्मेदवार रामसिंह पुजारा र बलबहादुर भण्डारीविरुद्ध उजुरी परेको निर्वाचन अधिकृत धर्मानन्द जोशीले बताए । पुजारा विरुद्ध पेश्की फच्र्यौट नगरेको भनेर उजुरी परेको र भण्डारीविरुद्ध फौजदारी अभियोगमा सजाय भोगेको भनेर उजुरी परेको छ । दुवै जनाविरुद्ध एकअर्काले उजुरी दिएका हुन् ।