काठमाडौं : आईसीसी यू–१९ क्रिकेट विश्वकप आजदेखि दक्षिण अफ्रिकामा सुरु हुँदैछ। भविष्यका स्टार जन्माउने यू–१९ विश्वकपको यो १५औं संस्करण हो।
सन् १९८८ मा पहिलो पटक अष्ट्रेलियामा आयोजना भएको यू–१९ क्रिकेट विश्वकप यसपटक सुरुमा श्रीलंकामा हुने तय थियो। तर आईसीसीले श्रीलंका क्रिकेटलाई निलम्बन गरेपछि प्रतियोगिता दक्षिण अफ्रिकाले आयोजना गर्ने भएको हो।
विश्वकपका खेलहरु पोचेस्ट्रुम, ब्लोएमफोन्टेइन, बेनोई, किम्बेरले र इस्ट लण्डनमा आयोजना हुँदैछ। यू१९ विश्वकपमा १२ टेष्ट राष्ट्रका युवा टोलीसहित चार एसोसिएट राष्ट्रले प्रतिस्पर्धा गर्दैछन्।
विश्वकपमा आज दुई खेल हुँदैछ। समूह ‘ए’ मा रहेका आयरल्याण्ड र अमेरिका तथा समूह ‘बी’ मा रहेका दक्षिण अफ्रिका र वेष्ट इन्डिजबीच खेल हुनेछ। दुवै खेल नेपाली समय अनुसार दिउँसो १ः४५ बजे सुरु हुनेछ।
फाइनल खेल ११ फेब्रुअरीमा हुनेछ। नेपालले पनि ८ वर्षपछि यू–१९ विश्वकपमा पुनरागमन गर्दैछ। नेपालले पहिलो खेल आउने आइतबार न्युजिल्याण्डसँग खेल्नेछ।
यू १९ विश्वकपमा सहभागी १६ टोलीलाई चार समूहमा विभाजन गरिएको छ।
जस अनुसार समूह ‘ए’ मा भारत, बंगलादेश, आयरल्याण्ड र अमेरिका तथा समूह ‘बी’ मा इंग्ल्याण्ड, दक्षिण अफ्रिका, वेष्ट इन्डिज र स्कटल्याण्ड छन्।
यस्तै समूह ‘सी’ मा अष्ट्रेलिया, श्रीलंका, जिम्बाव्वे र नामिबिया तथा समूह ‘डी’ मा नेपाल र न्युजिल्याण्डसँगै अफगानिस्तान र पाकिस्तान छन्।
चार एसोसिएट राष्ट्र नेपाल, स्कटल्याण्ड, नामिबिया र अमेरिकासहित न्युजिल्याण्ड छनोट चरण पार गर्दै विश्वकपमा पुगेका हुन्।