धनगढी : राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रदेशसभा सदस्य खिमादेवी विष्टले सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहप्रति आपत्ति जनाएकी छिन् । आजदेखि सुरु भएको प्रदेशसभाको हिउँदे अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै प्रदेशसभा सदस्य विष्टले आपत्ति जनाएकी हुन् ।
उनले मुख्यमन्त्री कमलबहादुर शाहले कुनै कुरामा अडान लिन नसकेको बताइन् । उनले भनिन्, ‘मुख्यमन्त्रीज्यू, तपाईंसँग मेरो प्रश्न छ तपाईं कुनै दलको मुख्यमन्त्री हो ? या कुनै व्यक्तिको ? कि ५३ जनाको या सुदूरपश्चिमको मुख्यमन्त्री हो ? तपाईंको बोलीमा मैले कुनै पनि दम देखेको छैन । मैले मात्रै होइन, तपाईंका पार्टीका कार्यकर्ताले पनि देखेका छैनन् । अहिले यहाँको विकास भइरहेको छैन, यसको जिम्मा तपाईँले लिनुपर्छ । यो कुरा गम्भीरतापूर्वक लिइदिनुहोला ।’
विष्टले सरकार लाचार हुँदा आफूहरूको हैसियत वडा सदस्यभन्दा तल्लो स्तरको भएको भन्दै दुखेसो समेत पोखिन् । उनले सुदूरपश्चिम सरकार जनता र संसद्प्रति जबाफदेही हुन नसकेको आरोप समेत लगाइन् ।
चालु आर्थिक बर्ष २०८०/०८१ को बजेट पारित गर्ने समयमा मुख्यमन्त्री कमलबहादुर शाह सहितका नेताहरुले सासंद बिष्टलाई घरमै भेटेर लेखा समितिको सभापति बनाउने बचन दिएका थिए ।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले), राप्रपा र स्वतन्त्र प्रदेश सभा सदस्यले बजेट पास गर्नका लागि बोलाइएको प्रदेश सभा बैठक बहिस्कार गरेपछि सोही समयमा सत्तापक्षलाई बजेट पास गर्न नैतिक संकट आउने अवस्था सिर्जना भएको थियो ।
बजेट पास गर्नका लागि बोलाइएको प्रदेश सभा बैठक बहिस्कार गरेर घर गएकी सासंद बिष्ट मध्यराती प्रदेश सभामा उपस्थित भएकी थिइन् । प्रतिपक्षी दलको रुपमा सासंद बिष्ट उपस्थित भएपछि सत्तापक्षले रातारात बजेट पारित गरेको थियो ।
यसरी सत्तापक्षलाई अन्तिम समयमा बजेट पास गराउन सहयोग गरेको र सहमति अनुसारको पद नपाएपछि सासंद बिष्टले आज बसेको प्रदेश सभाका मुख्यमन्त्री शाहको आलोचना गरेकी हुन् ।
बिष्टलाई दिने भनिएको लेखा समिति प्रमुख प्रतिपक्षी दल एमालेले पाएको छ ।