धनगढी: सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका प्रवक्तासमेत रहेका नीति योजना तथा जनस्वास्थ्य महाशाखाका प्रमुख नरेन्द्रसिंह कार्की मन्त्रालय र जिम्मेवारीबाट आउट भएका छन्। स्वास्थ्य तालिम केन्द्र धनगढीमा दरबन्दी रहेका कार्की काजमा मन्त्रालयको जिम्मेवारी पनि सम्हाल्दै आएका थिए।
तर, एक हप्ता अगाडिमात्रै कार्कीलाई दोहोरो जिम्मेवारीबाट हटाएर तालिम केन्द्रमै काम गर्न भनी काज फिर्ता गराइएको मन्त्रालयका निमित्त सचिव गणेश सिंहले जानकारी दिए। उनका अनुसार अहिले तत्कालीन प्रवक्ता तथा महाशाखा प्रमुख कार्कीको काज फिर्तापछि सो महाशाखा र प्रवक्ताको जिम्मेवारी रिक्त छ।
यस्तै सामाजिक विकासमन्त्री झपट साउदले पनि कार्कीको दोहोरो जिम्मेवारी भएका कारण काज फिर्ता भएको बताए। तर उता मन्त्रालय स्रोतले भने मन्त्रीसँगको टसलका कारण काज फिर्ता मागेर कार्की आफैं बाहिरिएको जनाएको छ। मन्त्रीले मन्त्रालयका कर्मचारीलाई पैसाको डिमान्ड गर्नेदेखि लिएर निर्णय प्रक्रियामा विभिन्न दबाब दिन थालेपछि थुप्रै कर्मचारी अहिले पनि रुष्ट रहेको बताइन्छ।
यस्तै अहिले कार्कीको स्थानमा आउन मन्त्रालयका केही कर्मचारीहरु मन्त्री र सचिवसहित नेता रिझाउने दौडमा लागेको बुझिएको छ।