काठमाडाैं : शुक्रबार माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको नेताबाट खगराज भट्टलाई हटाएर बहुमतको निर्णयले मानबहादुर धामीलाई दलको नेता बनाएसँगै पार्टीको किचलो छताछुल्ल भएको छ। एक पक्षले प्रदेश संसदीय दलको नेता परिवर्तन गरे लगत्तै उक्त निर्णय तत्काल सच्याउन प्रदेश कमिटीले निर्देशन दिएको छ।
देश अध्यक्ष हरिराम चौधरी(उत्सव) को अध्यक्षतामा बसेको माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश कमिटी पदाधिकारी बैठकले दलको नेता परिवर्तन गर्ने निर्णय सच्याउन संसदीय दललाई निर्देशन दिएको हो।
सुदूरपश्चिम प्रदेशका सबै जिल्ला संयोजक र इन्चार्जलाई पदाधिकारी बैठकले गरेको निर्णय समेत परिपत्र गरिएको छ। परिपत्रमा संसदीय दलको नेता खगराज भट्टको जानकारी विना उपनेता अक्कल बहादुर रावलको अध्यक्षतामा बसेको बैठकले दलको नेता परिवर्तन गरेको र सरकार परिवर्तन गर्ने भन्ने कुरामा गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ।
शुक्रवार बसेको दलको बैठकले बहुमतबाट सुदूरपश्चिम प्रदेश सभा माओवादी संसदीय दलको नेता परिवर्तन गरेको हो।यसअघि दलको नेता रहेका खगराज भट्टलाई हटाएर माओवादीमा मानबहादुर धामीलाई दलको नेता बनाएको हो। सभामुखसहित ११ जना प्रदेशसभा सांसदमध्ये ६ जनाले खगराजलाई हटाएर धामीलाई दलको नेता बनाएका हुन्।