धनगढीः नेपाल प्रहरीका पूर्व डीआइजी छविलाल जोशीको खातामा अस्वभाविक कारोबार देखिएको छ।
जोशीको पछिल्लो तीन वर्षको अस्वाभाविक र शंकास्पद १७ करोड रकम रहेको छ। उनको कारोबार अस्वाभाविक रहेको भन्दै नबिल बैंकले राष्ट्र बैंकस्थित वित्तीय जानकारी इकाइलाई जानकारी गराएको छ।
नबिल स्रोतका अनुसार उनको व्यक्तिगत बचत खातामा अस्वाभाविक र शंकास्पद कारोबार देखिएपछि राष्ट्र बैंकस्थित वित्तीय जानकारी इकाइलाई जानकारी गराएको थियो।
स्रोतका अनुसार जोशीको खातामा कोरोना महामारीअघि तीन करोड ४४ लाख ८२० रूपैयाँ ३६ पैसा थियो।
सन् २०२० मा १ करोड २४ लाख पाँच हजार २५८ रूपैयाँ २० पैसा झिकेपछि १ करोड ७४ लाख २७ हजार ५६५ रूपैयाँ २६ पैसा बाँकी रह्यो।
अर्को वर्ष २०२१ मा ६ करोड ४ लाख २६ हजार ३६८ रूपैयाँ ९० पैसा र सन् २०२२ मा ७ करोड ९ लाख ८७ हजार ८९६ रूपैयाँ ८९ पैसा बढ्यो।
जोशीको नबिल बैंकस्थित व्यक्तिगत बचत खाता नम्बर १७१००१७५१२३५६ मा सन् २०२१ जुन ३० तारिखका दिन ९० लाख रूपैयाँ जम्मा भएको देखिन्छ। उक्त रकम एनआईसी एशिया बैंक लिमिटेडमा रहेको दिनेश दर्शनधारीको व्यक्तिगत बचत खाता नम्बर ३९१४२२६९८३५२४००१ बाट जम्मा भएको थियो।
सोही रकम जोशीले आफ्नो खाताबाट एनआईसी एशिया बैंकमा रहेको पुजन तुलाधर सिकर्मीको बचत खाता ३९८७०२२२२८७५२४०१ मा भोलिपल्टै जुलाई १ का दिन ट्रान्सफर गर्नुले पनि कारोबार शंकास्पद देखिएको हो।
ठूलो परिमाणको रकम एकाध दिनमा विभिन्न व्यक्तिको खातामा सार्नुले घटनालाई झन् रहस्यमय बनाएको छ। जोशीसँग रकमको लेनदेन गर्ने दर्शनधारी कीर्तिपुरस्थित दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड र मोबिल्याण्ड ग्रुप अफ कम्पनीका अध्यक्ष हुन्।
अर्का व्यक्ति सुवर्ण भने कम्पनीका निर्देशक र सहकारीका प्रबन्धक हुन्। जोशीको नबिल बैंकमा रहेको व्यक्तिगत बचत खातामा सन् २०१८ र २०१९ सम्म कारोबार सामान्य नै रहेको देखिन्छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका पूर्व सञ्चारकर्मी रवि लामिछाने र ग्यालेक्सी टेलिभिजनका अर्का साझेदार जिबी राईले ग्यालेक्सी टिभी खोलेपछि खातामा रकम जम्मा हुने क्रम बढेको छ।
सन् २०२० पछिका वर्षमा उनको कारोबार शंकास्पद देखिएको बैंकका अधिकारीहरू बताउँछन्।
जोशी उनै मान्छे हुन्, जसले यसअघि जिबी राई जस्तै नेटवर्किङ व्यवसाय कम्पनी खोलेर त्यसको संरक्षकको भूमिकामा संलग्न भएको पाइएको थियो।
जिबी र जोशीका शंकास्पद कारोबारले रविलाई पनि तान्ने सम्भावना बढाएको छ। महेन्द्रनगर ससुराली भएका जोशी प्रहरी हुँदा कैलाली र कञ्चनपुर लगाएतका जिल्लामा पनि बसेका थिए।
के भन्छन् त छविलाल ?
अस्वाभाविक र शंकास्पद कारोबारको विषयको बारेमा आफ्नो संलग्नता नरहेको पूर्व डीआइजी जोशी बताउँछन्। उनले बैंकमा गरेको कारोबार स्वच्छ हुने बताए।
‘मैले बैंकबाट गर्ने कारोबार। बैंकमा गरेको छु भने त झन् स्वच्छ हुनुपर्ने हो। मैले बाहिरबाट नगरेर बैंकबाट गरे भने त झन् दुरुस्त हुनु पर्ने होइन् र?,’ उनले भने, ‘बैंकको चिज त झन् लुकाइएको भन्ने कुरा हुँदैन्।’
उनले आफू रवि र जिबी तीन वर्ष पहिले नै छुट्टिएको बताए। उनले रवि र जिबीसँग राम्रो सम्बन्ध र सद्भाव रहेको तर लेनदेन नभएको जिकिर गरे।
‘जति बेला उहाँहरूको राम्रो अवस्था थियो। अत्यन्त उत्कृष्ट समयमा। जिबीले प्रशस्त पैसा निकाल्न सक्ने, रविले राम्ररी सिधा कुरामा बोल्न सक्ने। त्यहीँ समयमा हामी अलग भएका हौं,’ उनले भने। उनले ग्यालेक्सीमा आफ्नो सेयर नभएको दाबी गरे।
उनी भन्छन्, ‘पहिले जिबीसँग कुरा भएको थियो। जुन हिसाबमा रवि र जीबीको कुरा भयो त्यसपछि म उहाँसँग बाहिरीएको। त्यतिखेर जिबी पैसा नभएर भाग्ने अवस्थामा र रविले टिभी छोडेर राजनीतिमा जान्छु भन्ने संकेत गरेको अवस्थामा होइन नि मैले छोडेको त। उहाँहरू त त्यै बसेर भैङ्कर राम्रो गर्नुहुन्छ भनेर लागेका थिए। मैले त्यही अवस्थामा छोडेको हुँ। त्यहीँ भएर यो मेरो कुनै सरोकार नभएको विषय हो।’