धनगढी : दार्चुलामा एक सार्वजनिक कार्यक्रममा मर्यादाक्रम मिचेर प्रमुख जिल्ला अधिकारी किरन जोशीलाई प्रमुख अतिथि बनाइएको पाइएको छ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाले माघ ४ गते आयोजना गरेको नागरिक सुनुवाइ कार्यक्रममा मर्यादाक्रम मिचेर उनलाई प्रमुख अतिथि बनाएको हो।
नेपाल सरकारले जारी गरेको मर्यादाक्रमअनुसार प्रजिअभन्दा धेरै माथि रहेका जिल्ला समन्वय समिति प्रमुख, नगर प्रमुख, गाउँपालिका अध्यक्ष र नगरपालिका उपप्रमुख सहभागी कार्यक्रममा जोशीलाई प्रमुख अतिथि बनाइएको हो।
जिल्ला प्रहरी प्रमुख शिवबहादुर सिंहले पहिलो पटक यस्तो कार्यक्रम आयोजना गरेका हुन्। चार महिनाअघि दार्चुला आएका डिएसपी सिंहले शान्ति–सुरक्षामा उल्लेख्य सुधार ल्याएको भन्दै नागरिक सुनुवाइ कार्यक्रममा फूर्तिसमेत लगाए।
कार्यक्रममा जिल्ला समन्वय प्रमुख महादेव बडू कश्यप, शैल्यशिखर नगरपालिका प्रमुख विजयसिंह धामी, मार्मा गाउँपालिका अध्यक्ष जमनसिंह धामी, मालिकार्जुन गाउँपालिका अध्यक्ष हिरासिंह धामी, नौगाड गाउँपालिका अध्यक्ष दलजीतसिंह धामी, व्यास गाउँपालिका अध्यक्ष मंगलसिंह धामी, दुहुँ गाउँपालिका अध्यक्ष नरेन्द्रबहादुर सिंह बडाल र लेकम गाउँपालिका अध्यक्ष रामदत्त जोशी तथा महाकाली नगरपालिका उपप्रमुख दुर्गा खत्री विष्टको उपस्थिति थियोे।
मर्यादाक्रमको ११औं नम्बरमा जिसस प्रमुख रहने व्यवस्था छ भने नगरपालिका प्रमुख १५आमा तथा गाउँपालिका अध्यक्ष र नगरपालिका उपप्रमुख १६औं नम्बरमा रहन्छन्।
सो कार्यक्रममा भने १७औं नम्बरमा पर्ने राजपत्रांकित द्वितीय श्रेणीकी जोशीलाई प्रमुख अतिथि बनाइएको थियो।