काठमाडौं : चरित्रहत्यासम्बन्धी पहिलेको मुद्दा टुङ्गो नलाग्दै उस्तै मुद्दामा युट्युबर मनोजकुमार महतो उर्फ मनोज मानव फेरि समातिएका छन्।
उनीविरुद्ध चरित्रहत्यासम्बन्धी मुद्दा काठमाडौं जिल्ला अदालतमा विचाराधीन छ।
अर्की एक महिलाले आफ्नो चरित्रहत्या गरेको उजुरी दिएपछि नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले महतोलाई मंगलबार बिहान काठमाडौंस्थित घरबाटै पक्राउ गरिएको ब्युरोका एसपी पशुपति रायले बताए।
उनका अनुसार, म्याद थप गरी महतोमाथि थप अनुसन्धान गर्न प्रहरीले अदालतसँग आजै अनुमति लिने तयारी गरेको छ।
‘स्टार अनलाइन टीभी’ नामक युट्युब च्यानल चलाउँदै आएका उनले आफूलाई सामाजिक अभियन्ता भन्ने एक महिलाविरुद्ध शृङ्खलाबद्ध भिडियो बनाएका थिए।
यति मात्र होइन, महतोले मध्यराति फोन गरेर अश्लील गालीगलौज गरेको अडियो महिलाले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी छन्।
अडियो, भिडियोसहित उनले लिखित उजुरी दिएपछि साइबर ब्युरोले महतोलाई नियन्त्रणमा लिएको हो।
विद्युतीय कारोबार ऐनअन्तर्गतको कसुरमा गत २३ कात्तिकमा समातिएका महतो २५ दिन थुनिएपछि एक लाख रुपैयाँ धरौटी तिरेर तारेखमा छुटेका थिए।
सिरहाका महतोले यसअघि टेलिभिजनकर्मी ऋषि धमलासँग समेत बार्गेनिङ गरेको अडियो सार्वजनिक भएको थियो।