धनगढी : धनगढीमा युवासँग जनप्रतिनिधि कार्यक्रम सम्पन्न भएको छ । मंगलबार धनगढी उपमहानगरपालिका वडा नम्बर ११ घोडसुवामा कार्यक्रम सम्पन्न भएको हो । युवासँग जनप्रतिनिधिको भूमिका महत्त्वपूर्ण भएको सहभागीले बताएका छन् । यस्ता कार्यक्रम र छलफलले स्थानीय सरकार सँग भएको दुरीलाई कम गर्न सकिने सहभागी बताउँछन् ।
धनगढी उपमहानगरपालिका वडा नम्बर ११ को घोडसुवाका धनबहादुर चौधरीले यूूवा र जनप्रतिनिधि बिच समन्वय हुन नसक्दा समस्या हुने गरेको बताए । उनले समाजमा अझै पनि विभिन्न समस्या रहेको बताएका छन् । अझै पनि रोजगार, शिप नभएर युवाहरू विदेश पलायन हुनुपर्ने अवस्था आएको बताए । यसका लागि वडा र स्थानीय तहले पनि सहयोग गरी यही रोजगारीको सृजना गर्नुपर्ने उनले बताए ।
यस्तै स्थानीय चेतराम रानाले युवालाई साथमा राखेर काम गर्न वडालाई सुझाव दिएका छन् । यस्तै स्थानीय हुकुम विष्टले कृषिका क्षेत्रमा अनुदान दिनुपर्ने बताएका छन् । यस क्षेत्रमा कृषि सम्भावना भएको हुँदा यसमा वडाले सहयोग गर्नुपर्ने उनको माग छ ।
कार्यालयले गर्ने गतिविधिको बारेमा सरोकारवालाहरूलाई जानकारी दिने, साझा सवालमा बहस, पैरवी गर्ने पद्धतिको विकास गर्ने अवधारणालाई अङ्गीकार गर्दै युवासँग जनप्रतिनिधि कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा उपस्थित सरोकारवाला र सहभागीको बिचमा भएको छलफल पश्चात् वडा नम्बर ११ का वडा अध्यक्ष रुप बहादुर कुँवरले आफू आफ्नो निकाय र लक्षित वर्ग प्रति जबाफदेही रहेको बताएका छन् ।
उनले वडामा आउँने बजेट कटौती भएका कारण समस्या भएको बताएका छन् । उनले कुनै पनि कार्यक्रम गर्दा बजेट पर्याप्त नभएको हुँदा अहिले वडामा कार्यक्रमहरू गर्न निकै समस्या भोग्नु परेको बताएका छन् । अघिल्ला वर्षहरूमा बजेट एक करोड बढी आउने गरेको भए पनि तर, गत वर्ष देखि भने त्यस बजेटको आधा ५७, ५८ लाख मात्रै बजेट आएको बताए । यसमा पनि वडाले गर्न सकिने कामहरू गरिरहेको बताउँदै उनले थप बजेटको समेत आवश्यकता रहेको बताए ।
धनगढी उपमहानगरपालिमा वडा नम्बर ११ मा रहेका बेरोजगार युवाहरूको लागि आवश्यकताको आधारमा युवा लक्ष्यीत सीपमूलक तालिमहरूको व्यवस्था गर्ने तथा एकल महिलाहरूको लागि दुना टपरी तालिम तथा घरेलु उद्योग स्थापना गर्ने उनले प्रतिबद्धता समेत गरेका छन् । यस्तै उनले
युवामैत्री नमुना वडा बनाउने र जनप्रतिनिधिसँग युवा कार्यक्रम सञ्चालन गर्ने, वार्षिक योजना तर्जुमा तथा बजेट विनियोजनको क्रममा युवा सहभागिता सुनिश्चितता गर्ने र युवा सहभागिता अनिवार्य गर्ने बताए । यस्तै उनले कलाकारिता क्षेत्रमा लागेका युवाहरूको लागि युवा समूह निमार्ण गरी तालिम तथा आवश्यक बजेट विनियोजन गर्ने प्रतिबद्धता समेत जाहेर गरेका छन् । युवाहरूको लागि अपाङ्गमैत्री खेल मैदान निमार्ण गर्ने खेल क्षेत्रमा लागेका युवाक्लबहरुलाई खेल सामाग्रीहरू वार्षिक रूपमा उपलब्ध गराउने समेत बताए ।
यस कार्यक्रममा स्थानीय युवा, सरोकारवाला निकाय, प्रहरी प्रशासन लगायत जन प्रतिनिधिको सहभागिता रहेको थियो ।
एकाउन्टीविलिटी ल्याब नेपालको आयोजनामा मंगलबार धनगढीमा कार्यक्रम सम्पन्न भएको हो ।