-आभूषण तिम्सिना
बजार तातेको छ। विषय त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अध्यागमन प्रमुखले ड्युटिमा खटिएको प्रहरी जवानलाई कुनै विषयमा कुरो नमिलेपछि आवेशमा आएर लात्तीले हाने त्यसको प्रतिकृया स्वरुप त्यहाँ खटिएका सबै मध्ये केही वर्दीधारी प्रहरीहरुले अध्यागमन अधिकृतलाई रामधुलाई गरे।
यो विषयमा अनेक मत मतान्तर देखापरेका छन्। कसैले प्रहरीले सहि गरेको हो भनेका छन्, कसैले के सँधै प्रहरीले मात्रै हेपाइ सहेर बस्नुपर्ने? कुटाइ सहेर बस्नुपर्ने ? अध्यागमन अधिकृतले चाहि आफ्नो पदीय मर्यादा बिर्सेर ड्युटिमा बसेको प्रहरी जवानलाई लात्ताले हान्न पाइने ? प्रहरीले जे गर्यो ठिक गर्यो। एका दुई पत्रकारहरुले त सामाजिक सञ्जालमै गोली ठोक्नुपर्थ्यो कुटेछन् मात्रै भन्ने खालका अभिव्यक्ति पनि दिएको देखिन्छ।
यो विषयमा सर्सर्ती संवैधानिक र कानूनी व्यवस्था हेर्दा सबैभन्दा पहिले नेपालको संविधान, २०७२ को प्रस्तावनामा उल्लेखित “ सामन्ती, निरंकुश, केन्द्रिकित र एकात्मक राज्य व्यवस्थाले श्रृजना गरेका सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै” भन्ने बाक्यांश ; त्यसपछि“ वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैङ्गिक विभेद र सबै प्रकारका जातीय छुवाछुतको अन्त्य गरि आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक, समावेशी र सहभागितामुलक सिद्धान्तका आधारमा समतामुलक समाजको निर्माण गर्ने संकल्प गर्दै” र संघिय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यम द्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पुरा गर्न” भन्ने बाक्यांशलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने देखिन्छ भने दोस्रो प्राथमिकतामा संविधानकै भाग-३ अन्तर्गत ब्यबस्था गरिएका मौलिक हक र कर्तव्य अन्तर्गत धारा-१६ सम्मानपुर्वक बाँच्न पाउने हक, धारा-१७ स्वतन्त्रताको हक को उपधारा (च), १८ समानताको हक, धारा २० न्याय सम्बन्धि हक, धारा २१ अपराध पिडितको हक, धारा २२ यातना विरुद्धको हक, धारा २४ छुवाछुत तथा भेदभाव बिरुद्धको हक, धारा ३३ रोजगारिको हक, धारा ३४ श्रमको हक, धारा ४२ सामाजिक न्यायको हक लगायतका संबैधानिक व्यवस्थालाई पनि दृष्टिगत गर्नैपर्ने हुन्छ। घटनाको सिसिटिभि फुटेज सार्बजनिक भएको छ र जताततै सामाजिक सञ्जालभरि छताछुल्ल छ र यी फुटेज कसरी सामाजिक सञ्जालमा छताछुल्ल आए भन्ने कुराले पनि प्रहरीको नियन्त्रण र रेखदेखमा रहने सिसिटिभी फुटेज कसरी सामाजिक सञ्जालमा आयो त ? यो प्रश्नको जवाफ प्रहरीको नेतृत्वले दिनै पर्छ।
कानुनी कुरा केहि बेर पछाडि गर्छू पहिले यो सिसिटिभी फुटेजको आधारमा देखिएका केहि कुराहरुलाई गहिरिएर अध्ययन गर्नुपर्ने देखिन्छ। कूल १ मिनेट ५८ सेकेण्डको भीडियो क्लिपको पहिलो ४ सेकेण्डमा प्रहरीले कुट्दै अध्यागमन अधिकृतलाई बाहिर निकालेको दृश्य(हाल चर्चामा रहेको बिषयको मुख्य अंश) देखिन्छ।
त्यसपछि शुरु हुने दृश्यमा के देखिन्छ भने अध्यागमन अधिकृत वाक थ्रु गेट हुँदै भित्र प्रवेश गर्छन्। उनी भित्र प्रवेश गर्दा सेक्युरिटी प्रोटोकल अनुसार मोवायल फोन टेबलमा राखेर वाक थ्रु गेट बाट भित्र छिर्छन् र भित्र छिरिसकेपछि उनले आफ्नो मोवायल टिप्छन्। वाक थ्रु गेटमा प्रवेश गर्ने क्रममा अध्यागमन अधिकृतसँग अन्य २ जना पासधारी मानिसहरु पनि छन्। अध्यागमन अधिकृत भित्र छिर्न खोजे पछि प्रहरीको एक जवानले उनलाई रोक्छन्। अब यहाँ के कुरातर्फ ध्यान दिनुपर्छ भने अध्यागमन अधिकृतलाई रोक्नको लागि त्यहाँ कुनै अधिकृत दर्जाका प्रहरी कर्मचारी छैनन्। ती प्रहरी जवानले अध्यागमन अधिकृतलाई चेक गर्न खोज्छन् अब पहिलो कुरो अध्यागमन अधिकृत जस्तो मानिस वाक थ्रु गेटबाट छिर्दा शंकास्पद केहि बोकेका थिए भने वाक थ्रु गेटबाट आवाज आउनुपर्ने हो त्यो आवाज आयो या आएन त्यहिकालाई थाहा होला। तर सामान्य हिसाबले वाक थ्रु गेटबाट छिरिसकेपछि अध्यागमन अधिकृतको चेक जाँच गर्नुपर्ने नै थियो भने ती प्रहरी जवानले उनलाई गेटमा रोकेर आफ्नो कुनै अधिकृतलाई खबर गर्नुपर्ने थियो जुन भएको देखिएन।
अध्यागमन अधिकृतसँग वादविवादकै क्रममा अध्यागमन अधिकृतसँग आएका २ जनामध्ये एक जना व्यक्ति अर्को कोठामा पसिसक्छन् उनलाई रोक्नेतर्फ प्रहरीले कुनै प्रयास गरेको देखिदैन। त्यसपछि अध्यागमन अधिकृत भित्रको कोठामा छिर्छन् प्रहरीको जवानले उनलाई बाटो छाडेर फेरि उनलाई रोक्न खोजेको देखिन्छ।
अब यहाँ के कुरा उठ्छ भने त्यहाँ शंकास्पद गतीविधी भएको छ वा हुँदैछ भन्ने थाहा पाएपछि अन्य प्रहरी कर्मचारिहरु आएर भित्र छीर्ने कोठाको ढोकामा उभीएर किन उनलाई रोकेनन् ? ४८ औं सेकेण्ड पछि एक्कासी दृश्यमा के देखिन्छ भने प्रहरीको समुहले अध्यागमन अधिकृतलाई हातपात गर्दै ठेलेको देखिन्छ र त्यहाँ त्यो बेलासम्म कुनै प्रहरीको अधिकृतको उपस्थिति देखिदैन।
त्यसपछि अध्यागमन अधिकृत अर्को कोठामा पुग्दाको दृश्य देखिन्छ जहाँ अघिल्लो कोठाकै प्रहरी जबान र अध्यागमन अधिकृत बिच वादविवाद हुदै गरेको देखिन्छ। अर्को कोठामा आएपछि ती प्रहरी जवानले अध्यागमन अधिकृतको पाखुरामा समातेको देखिन्छ र अधिकृतले पाखुरा छुटाएको पनि देखिन्छ। त्यसपछि अर्को कोठाबाट एकजना अर्का प्रहरी जवान वेगले आउँछन। एकजना महिला हवल्दारसाब अलि पर उभिनुभएको देखिन्छ भने अर्का पुरुष हवल्दार साब भित्र छिर्नुहुन्छ र सँगसँगै अर्की महिला हवल्दार साब समेत नजिकै आइपुग्नुभएको दृश्य देखिन्छ भने अध्यागमन अधिकृतलाई घेरा हाल्दै लगेको देखिन्छ भने बिस्तारै प्रहरी जवानले अध्यागमन अधिकृतलाई हातमा समात्न खोज्दा अध्यागमन अधिकृतले प्रतिरोध गरेपछि अध्यागमन अधिकृतमाथि सामुहिक प्रहार गर्दै उहाँलाई भित्तामा पुर्याएपछि मात्रै अध्यागमन अधिकृतले लात्ती प्रहार गरेको दृश्य आफैं बोल्छ अरु कोहि बोलिरहनु पर्दैन।
हातपात गर्दै अध्यागमन अधिकृतलाई भित्तामा पुर्याएपछि उनले आफ्नो बचावको लागि लात्ती प्रहार गरेको देखिन्छ तर हेर्दा उनको लात्ती कसैको घुँडाभन्दा माथि गएको छैन। तर त्यसपछि उनीमाथि सामुहिक प्रहार भएको स्पष्टै देखिन्छ। र यति हुँदा पनि त्यहाँ कुनै सिनियर प्रहरी अधिकृतको उपस्थिति देखिदैन। अध्यागमन अधिकृतलाई हातपात गर्दै बाहिर पुर्याएपछि हस्याङफस्याङ गर्दै एकजना प्रहरी नायब निरीक्षक कुर्सी नाघेर झगडा भएको स्थानमा पुगेको दृश्य पनि देखिन्छ।
यहाँ समग्र प्रकृयामा प्रहरीले आफैंलाई कमाण्डर मानेर निर्णय गरेको देखिन्छ। हरेक प्रहरी जवान आफैं कमाण्डर हुने हो भने फोर्समा किन माथिल्लो दर्जा राखिरहनु ? कमाण्डको कमजोरीले गर्दा प्रहरी जवानहरु अनियन्त्रित भएको दृश्य स्पष्टै देखिन्छ त्रिभूवन अन्तराष्ट्रिय विमानस्थल भित्रको यो समग्र घटनामा।
यसरी सिसिटिभी फुटेजको अध्ययन गर्दा त्यहाँ अध्यागमन अधिकृतले पहिले हातपात गरेको देखिदैन। पहिले प्रहरीले हातपात गर्दै उनलाई ठेलेपछि उनले लात्ती प्रहार गरेको घाम जत्तिकै छर्लङ्ग देखिन्छ।
अब यो घटना घटिसकेपछि अति सुरक्षित रुपले २४ सै घण्टा निगरानीमा रहने सिसिटिभी फुटेज कसरी बाहिर आयो भन्ने विषयमा पनि छानबिन गर्नुपर्ने हुन्छ। प्रहरीको निगरानीमा रहने यो सिसिटिभी फुटेज के अरु कसैले बाहिर निकाल्न सक्छ? सामान्य मोटर साइकलको चोरी भएर सिसिटिभी फुटेज हेर्न त सोर्सफोर्स लगाउनुपर्छ काठमाडौं उपत्यकामा भने त्रिभूवन अन्तराष्ट्रिय विमानस्थल भित्रको संवेदनशिल सिसिटिभी फुटेज कसरी बाहिरियो, किन र कसको आदेशमा निकालियो भन्नेतर्फ पनि छानबिन हुनु जरुरी छ।
अब यहाँ हेर्नुपर्ने विषय के छ भने अध्यागमन अधिकृत समेत बिना कुनै चेक जाँच छिर्न नमिल्ने कक्षको अगाडि कोठाको वाक थ्रु गेटमा किन कुनै सिनियर अधिकृतको ड्युटि राखिएन। जर्नेल दर्जाको व्यक्ति कार्यालय प्रमुख हुने, उनको 2-I-C (Second-in-command) समेत प्रथम श्रेणीको प्रहरी अधिकृत हुने, अनि फिल्ड अफिसर समेत राज पत्रांकित द्वितिय श्रेणीको डियसपी हुने अन्तराष्ट्रिय विमानस्थलको त्यस्तो संवेदनशिल स्थानमा एउटा जवानको भर पर्नु के उचित थियो? समग्र घटना क्रममा त्यहा कुनै राजपत्रांकित अधिकृत देखिदैन।
यो घटनालाई लिएर सामाजिक सञ्जालमा बग्रेल्ती कमेन्टहरु आएका छन्। प्रहरीले लेखाउन लगाएको जस्तो देखिने समाचारहरु, कमेन्टहरु पनि बग्रेल्ती देखिन्छन्। तर त्यहाँ कानूनी राज्यको महसुस गराउने किसिमको कार्य प्रहरीबाट भएको देखिदैन। संवेदनशिल स्थान भएकोले नै होला एसपी. बस्ने स्थानमा प्रथम श्रेणीका दुइ जना अधिकृत र द्वितिय श्रेणीका फिल्ड अधिकृत राख्ने व्यवस्था भएको। तर् अध्यागमन अधिकृत समेत बिना कुनै चेकजाँच छिर्न नमिल्ने त्यस्तो संवेदनशिल स्थानमा किन कुनै सिनियर अधिकृतलाई खटाइएन ? त्यसपछि अर्को प्रश्न उठ्छ। प्रहरी ऐनद्वारा प्रत्यक्ष निर्देशित र संरक्षित प्रहरीको जवानले प्रहरी अध्यागमन अधिकृत हुन् भन्ने थाहा पाएपछि किन माथिल्लो कमाण्डरलाई रिपोर्ट गरेन र किनै आफैं प्रहरीहरु सामुहिक रुपमा जाइलागे भन्ने प्रश्न त उठ्छ नै तर आकर्षित चाहि प्रहरी ऐन २०१२ को दफा ३३(ख) को उपदफा (च) मा उल्लेखीत ब्यबस्था आकर्षित हुन्छ- “ड्युटिमा रहेको या नरहेको भए तापनि माथिल्लो दर्जाको कर्मचारि हो भन्ने थाहा पाएपछि वा विश्वास गर्ने कारण छँदाछँदै अपराधिक बल प्रयोग गरेमा वा गर्ने उद्योग गरेमा वा धम्की दिएमा – १० वर्षसम्म कैद वा दुई वर्षको तलब बराबर सम्म जरिवाना वा दुवै सजाय हुनेछ।”
अब संवौधानिक र कानूनी व्यवस्थातिर हेरौं। मौलिक हकका धाराहरुकै कुरा गर्दा पनि पहिले अध्यागमन अधिकृतलाई धकेलेर भीत्तोसम्म पुर्याउने कार्य प्रहरीहरुबाटै भएको देखिन्छ। कुनै जिम्मेवार अधिकृतको कमाण्ड नै नरहेको त्यो स्थानमा निम्न दर्जाका कम जानकार प्रहरी कर्मचारिहरुको उपस्थिति देखिन्छ। प्रहरीमा कमाण्डरको महत्व र महत्तालाई प्रहरी संगठन आफैले बेवास्ता गरेर त्यस्तो स्थानमा संवेदनशिलताको अध्ययन गरेर सिनियर अधिकृत खटाउनुपर्नेमा प्रहरी प्रधान कार्यालय र अन्तराष्ट्रिय विमानस्थलका कमाण्डरको कमिकमजोरि छर्लङ्ग हुन्छ।
त्यसमाथि पनि गृह मन्त्रालय मातहतको प्रहरीले गृह मन्त्रालय मातहतकै अध्यागमनको प्रथम श्रेणिको अधिकृतलाई नै तल्लो दर्जाको प्रहरी कर्मचारिले अनुशासन र मर्यादाको सिमा नाघेर कुटपिट लछारपछार पारेको स्पष्टै देखिन्छ।
अब अर्को तर्क तिर जाउँ प्रहरी प्रचलित नेपालका सबै कानुनहरुको पालना गराउँछु भनेर प्रहरी ऐन बमोजिमको सपथ खाएर कार्यक्षेत्रमा प्रवेश गरेको हुन्छ। अब भनौं नेपालको कुन चाहि कानुनले प्रहरीले कार्यक्षेत्रमा या ड्युटि स्थलमा या अनुसन्धानको क्रममा स्थानिय प्रशासन ऐनको प्रयोग बिना कसरी र कसलाई हातपात या कुटपिट गर्न पाउँछ? स्थानीय प्रशासन ऐनका प्रावधानहरु जिल्ला सुरक्षा समितिको बैठक बसि भएका निर्णयहरुमार्फत लागू भएको अवस्थामा त प्रमुख जिल्ला अधिकारिको अनुमति बिना सामान्य लाठी चार्ज पनि गर्न पाउँदैन भने अन्य कुनै पनि अबस्थामा प्रहरीले कसैलाई कुटपिट गर्नु मानवअधिकारको गम्भिर उल्लंघन हो।
मानव अधिकारको विश्वव्यापी घोषणा पत्रमा प्रतिबद्धता जनाएको हाम्रो मुलुक, मानव अधीकारको पूर्ण पालना गर्दै बल प्रयोगका आधारभूत सिद्धान्तको पालना गर्छु भनेर प्रतिबद्धता जनाउने नेपाल प्रहरीलाई त्यसरी कसैलाई कुटपिट र हुलहुज्जत गर्ने छूट छैन। हुलहुज्जत र गुण्डागर्दी नियन्त्रण गर्नको लागि कानुन बमोजिम परिचालित हुनुपर्ने प्रहरी किन त्यहाँ गुण्डागर्दी शैलीमा उत्रियो भन् ठुलो प्रश्न उब्जेको छ अहिले कानुनी राज्य र न्यायिक सर्वोच्चताको बारेमा सचेत चेतनशील नागरिक समुहहरु।
(पूर्व प्रहरी उपरीक्षक आभूषण तिमिल्सिनाको फेसबुकबाट साभार)