काठमाडौं : व्यवसायी अरुण चौधरीको पक्राउलाई लिएर व्यवसायीहरूले आपत्ति जनाइरहेका बेला नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले तीन महिनाको अनुसन्धानपछि उनलाई पक्राउ गरेको बताएको छ।
शुक्रबार पत्रकार सम्मेलन गरेर सीआईबीले तीन महिनाको अनुसन्धानपछि चौधरी र थापासहितलाई पक्राउ गरेको जनाएको हो।
पत्रकार सम्मेलनमा एसएसपी दिनेश आचार्यले तीन महिनाको अनुसन्धानपछि बाँसबारी छालाजुत्ता कारखानाको जग्गा प्रकरणमा उनीहरूलाई पक्राउ गरेको जानकारी दिएका हुन्।
बिहीबार बाँसबारी छालाजुत्ता कारखानाको जग्गा प्रकरणमा व्यवसायी अरुण चौधरी, तत्कालीन बाँसबारी छालाजुत्ता कारखानाका कार्यकारी निर्देशक अजित नारायण थापालाई पक्राउ गरेपछि व्यवासायीका छाता संगठनले आपत्ति जनाएका थिए।
उनीहरूलाई बिनाअनुसन्धान पक्राउ गरेको भन्दै आपत्ति जनाइएको थियो।
च्याम्पियन फुटवेयरमा बाँसबारी छाला उद्योगको २५ प्रतिशत शेयर अरुण चौधरी समूहले खरिद गरेको पाइएको सीआईबीले जनाएको छ।
सीआईबीका अनुसार २०५२ सालमा च्याम्पियन फुटवेयरको २५ प्रतिशत शेयर अरुण समूहले किनेपछि २०५४ पुस ४ गते प्राइभेट कम्पनीमा लगिएको थियो।