काठमाडौं : गत हप्ता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कर्मचारी र प्रहरीबीच हानाहान भयो।
गत हप्ताको शुक्रबार दिउँसो अध्यागमन अधिकृत छायालाल मोक्तान र विमानस्थल अध्यागमन कार्यालय प्रमुख गोगनबहादुर हमालमाथि प्रहरीले हातपात गरेका थिए।
सहसचिव थानेश्वर गौतमको नेतृत्वमा गठित समितिले बुझाएको प्रतिवेदनमा कुटपिटमा संलग्न प्रहरी सहायक निरीक्षक (असई) सञ्जय तामाङलाई निलम्बनको सिफारिस गरेको छ।
असई तामाङ तीनै विवादित प्रहरी कर्मचारी हुन्। जसलाई तीन वर्षअगाडि यस्तै प्रकृतिको घटनामा नसिहत दिइएको पाइएको छ।
कम्प्युटर कोड ४७९४७८ र संकेत नम्बर सी ००१३३५७८ रहेका सञ्जयको त्यतिबेला अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरमै दरबन्दी थियो।
उनले त्यसबेला पनि यस्तै काण्ड मच्चाएको फेला परेपछि प्रहरी निरीक्षक रामकृष्ण देवकोटाले अभिलेख किताबमा जनिने गरी नसहित दिने निर्णय गरेका थिए।
तामाङले प्रहरी नियमावली ०७१ (संशोधन सहित) परिच्छेद १० को नियम ११० को (क) कसुरमा नियमावली ११९ को ४ (क) ले दिएको अधिकार प्रत्यायोजन गरी १०९ (क) २ बमोजिम पहिलो पटक नसिहत पाएको तथ्य फेला पारेको छ।
आफूलाई नसिहत दिने निर्णयविरुद्ध उनले पुनरावेदन गरेका थिए। यसरी एउटा कर्मचारी नसिहत पाउँदासमेत तीन वर्षदेखि एयरपोर्टमा टिकिरहेको भेटिएको हो।