धनगढीः कैलालीको अत्तरियास्थित न्यू सत्कार दोहोरी साँझमा भएको लफडासँगै युवकको मृत्यु भएको घटनाको अनुसन्धानको रिपोर्ट फाइल सरकारी वकिलको कार्यालयमा पुगेको छ। घटना घटेको २५ दिन बित्दा शुक्रवार कैलाली प्रहरीले अनुसन्धानको रिपोर्टसहितको फाइल सरकारी वकिलको कार्यालयमा बुझाएको हो।
कैलाली प्रहरीका प्रमुख एसपी देवेन्द्र पालले कानुनी प्रक्रिया अन्तरगत अनुसन्धान जारी रहेकै बेला फाइल वकिल कार्यालयमा बुझाइएको महेन्द्रनगरपोष्टलाई जानकारी दिए। उनका अनुसार वकिल कार्यालयले फाइल अदालतमा पेस गर्ने छ। अहिले पनि सो घटनाको अनुसन्धान जारी नै छ।
अहिले प्रहरीको केन्द्रिय अनुसन्धान व्युरो (सिआइबी) समतेले सो घटनाको अनुसन्धान गरिरहेको छ। काठमाडौंबाट सिआइबीका प्रहरी निरीक्षक (इन्सपेक्टर) गणेश जैसीको नेतृत्वमा एक टिम खटिएर सो घटनाको अनुसन्धान भैरहेको हो। प्रहरीको उच्च स्रोतका अनुसार डोटी स्थायी घर भएका सिआइबीका इन्सपेक्टर जैसी अपराध अनुसन्धानमा काबिल अफिसर मानिन्छन्।
प्रदेश प्रहरी कार्यालय सुदूरपश्चिम, जिल्ला प्रहरी कार्यालय कैलाली लगायत इलाका प्रहरी कार्यालय मालाखेतीको टिम पनि सो घटनाको अनुसन्धानमा सक्रिय छ। केही समय अगाडिमात्रै सो घटनाको अनुसन्धान गर्न प्रहरीको एक विज्ञ टोली खटाइएको थियो।
गत २५ पुसको राति अत्तरियाको न्यू सत्कार दोहोरी साँझबाट लफडा भएर निस्किएका कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ गुलरियाका ४२ वर्षीय श्याम देउवाको मृत्यु प्रकरणमा अनुसन्धान तीब्र पारिएको हो। सो घटनाको सिआइबीको टोलीसहित प्रदेश प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक नरपति भट्ट नेतृत्वको विज्ञ टोली, आरआइटी (सादा पोसाकवाला) सुदूरपश्चिमको टोली लगायतले व्यापक अनुसन्धान गरिरहेको बताइन्छ।
आफन्तले हत्या भनेको देउवा प्रकरणमा अहिलेसम्म प्रहरीले अनुसन्धान गरिरहेको र निष्कर्षमा भने पुगि नसकेको जनाएको छ। यस अगाडी नै सो घटनासँग सम्बन्धित रहेको भन्दै समातिएका ६ जना आरोपितहरुको पोलिग्राफ परीक्षण गरिएको थियो। यस्तै उनीहरुको बयान पनि लिइएको र घटनामा संलग्न रहेको आरोपमा अहिले थुनामै राखिएको बताइएको छ।
२५ पुसको राति साथी कृष्णपुरकै टेकबहादुर नायकसँगै अत्तरियास्थित न्यू सत्कार दोहोरी साँझमा गएका देउवा दोस्रो दिन भोलिपल्ट गोदावरी नगरपालिकाको चौकीडाँडामा अर्धचेत अवस्थामा भेटिएका थिए। देउवा र अर्को टिमको दोहोरो साँझमा लफडा पनि भएको प्रहरी अधिकृतहरुको भनाई छ।
दोस्रो दिन भेटिएका देउवाको शरीरमा चोटपटक देखेर आफन्तले उपचारका लागि त्यहीँ दिन धनगढी ल्याएका थिए, तर उनको उपचारकै क्रममा मृत्यु भएको थियो। देउवाको मृत्यु भएपछि हत्या गरिएको भन्दै उनीसँगै गएका साथी नायक र अन्य लफडा गर्ने ६ जनाविरुद्ध परिवारले किटानी जाहेरी दिएको थियो।
त्यसपछि कैलाली प्रहरीले नायकसहित गोदावरी नगरपालिका–१ का २७ वर्षीय विनोद शाह, गोदावरी–६ बस्ने २४ वर्षका प्रकाश ओली, वडा नम्बर १ बस्ने २५ वर्षीय उमेश बडेला, २८ वर्षीय यज्ञ बिक, कृष्णपुर नगरपालिका–९ बस्ने ३८ वर्षीय रामबहादुर ऐर पक्राउ गरेको थियो। उनीहरुलाई नियन्त्रणमा राखेर अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
र यो पनिः अत्तरियाको सत्कार दोहोरी साँझमा कुटपिटपछि देउवाको मृत्यु, ६ जना प्रहरी खोरमा
अत्तरिया दोहोरी साँझकाण्डको नालिबेली, सँगै भएको थियो दारुपार्टी
कञ्चनपुरका देउवा मृत्यु प्रकरणमा अनुसन्धान गर्न विज्ञ टोली परिचालन, ‘पोलिग्राफ टेस्ट’ सकियो
सुदूरपश्चिमको ‘देउवा हत्याकाण्ड’मा सिआइबी पस्यो !