काठमाडौं : कञ्चनपुर प्रहरीले प्रहरीका विषयमा समाचार लेखे कारबाही गरिने चेतावनी दिएको छ। केही दिनयता महेन्द्रनगरपोष्टले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका कार्यरत ‘विवादित’ इन्सपेक्टर बिनु शाहीले गरेको ज्यादतिका बारेमा शृङ्खलावद्ध रुपमा फ्लोअप गरिरहेको छ। उनै शाहीलाई जोगाउने उद्देश्यका साथ कञ्चनपुर प्रहरीले हिजो(सोमबार) विज्ञप्ति जारी गरेको थियो।
जिल्ला प्रहरीले पीडित भनिएका प्रहरी जवानसँग सोधपुछ गरि घटनाबारे अनुसन्धान गर्नुपर्नेमा बिनुको बचाउ गर्दै विज्ञप्ति नै जारी गरेको हो। तर, त्यो विज्ञप्तिले कञ्चनपुर प्रहरीको फितलो सुरक्षा व्यवस्थापनबारे उजागर गरिदिएको छ।
सो विज्ञप्तिमार्फत कञ्चनपुर प्रहरीका प्रवक्ता डीएसपी प्रकाश डाँगीले इन्सपेक्टर शाहीको कुनै गल्ती नसमेटी तत्कालीन प्रहरी जवान नाथ अनाधिकृत रुपमा प्रहरी हिरासतमा घुसेको जनाएका छन्। यस्तै पुस २२ गतेका दिन नाथ दिउँसोको समयमा आफूखुसी हिरासत कक्षमा गएको र त्यहाँका थुनुवाहरुलाई सुर्ती, गुट्खाजन्य पदार्थ दिईरहेको अवस्थामा फेला परेको डीएसपी प्रकाश डाँगीले जानकारी दिएका छन्। विज्ञप्तिमा ती तत्कालीन प्रहरी जवान नाथलाई थुनिएको र यातना दिइएको कुरा भने उल्लेख छैन।
यस्तै विज्ञप्तिको अन्तिम बुँदामा उक्त प्रकरणलाई लिएर कसैले समाचार तथा सामाजिक सञ्जालमा स्टाटस लेखेमा कानुन अनुसार सजाय गर्ने चेतावनी दिइएको छ। जबकी नेपालमा समाचार तथा सञ्चार माध्यमका मुद्दा प्रेस काउन्सिलले हेर्ने गर्छ। कसैले समाचारमा विमति जनाउन प्रेस काउन्सिमा उजुरी दिने व्यवस्था नेपालमा छ। तर, कञ्चनपुर प्रहरी भने इन्सपेक्टरलाई जोगाउने ध्येयका साथ आफै पत्रकारलाई कारबाही गर्ने चेतावनी दिइरहेको छ।
उता, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत मुद्दा शाखा हेर्ने प्रहरी निरीक्षक(इन्सपेक्टर) बिनु शाहीबाट यातना भोगेका प्रहरी जवानले निवेदन दिइसकेका छन्। बाजुरामा कार्यरत रहेका प्रहरी जवान नरेन्द्र नाथले बिदामा महेन्द्रनगर आएको बेला शाहीबाट यातना खेप्नुपरेको र त्यसपछि राजीनामा दिन बाध्य बनाएको भन्दै खुलासा भएको थियो।
आफूमाथि भएको ज्यादतीविरुद्ध प्रदेश प्रहरी कार्यालयमा पुग्दा समेत न्याय नपाएर राजीनामा दिएको बताउने उनले आज(मंगलबार) जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा इन्सपेक्टर शाहीविरुद्ध निवेदन दिएका हुन्।
नाथले निवेदनमा इन्सपेक्टर बिनु शाही तथा उनको निर्देशनमा आफूमाथि भएका ज्यादतीको शिलशिलाबारे खुलाएका छन्। पुस २२ गते जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा बिदाबारे बुझ्न जाँदा आफूलाई घेरा हालेर गिरफ्तार गर्दै कुटपिट गरेको उनले प्रमुख जिल्ला अधिकारीलाई जानकारी दिएका छन्।
उक्त विषयमा कञ्चपुरका प्रमुख जिल्ला अधिकारी(सीडिओ)गोपालकुमार अधिकारी ती प्रहरी जवानले निवेदन दिएको र आवश्यक जाँचबुझ भइरहेको बताए । यस्तै सुदूरपश्चिमका प्रहरी प्रमुख डीआइजीले पनि घटनाको बारेमा बुझिरहेको र प्रहरी दोषी देखिए कारबाही गरिने बताएका छन्।
यो पनि:
कञ्चनपुरकी ‘काण्डवाली’ इन्सपेक्टर बिनु पहिले पनि परेकी थिइन् कारबाहीमा
कञ्चनपुर प्रहरीको कस्टडीभित्रै छिर्छ अवैध सामान, प्रहरी के हेरेर बस्छ र?
कञ्चनपुरकी ‘काण्डवाली’ इन्सपेक्टर बिनु भन्छिन्- रमाइलो लाग्यो !
इन्सपेक्टर ‘बिनु’को अर्कोकाण्ड: ज्यादती भएपछि जवानको ‘रिजाइन्’
कञ्चनपुरमा पुलिस थुनाभित्रै कुटिन्छन् थुनुवा ! इन्सपेक्टर बिनुको गोलमटोल जवाफ [भिडिओे]
कञ्चनपुरमा पत्रकार कुट्ने यी ३ इन्सपेक्टर र एक असई कारबाहीमा
1 Comment
Pingback: Arrest of journalists raises alarm for free press in Nepal - Media Action Nepal